सहमतिको भाका सार्ने बहाना बन्दै दुःखद घटना

NEPAL-KATHMANDU-CONSTITUENT ASSEMBLY-MEETINGकाठमाडौं, ६ वैशाख । २९ माघ यता संविधानसभाको बैठक कार्यसूचीमा छलफल गर्ने गरी बस्न सकेको छैन । २९ माघमा बसेको संविधानसभा बैठक विपक्षी गठनबन्धन, नागरिकसमाज र सत्तापक्षसम्मको आग्रहमा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

त्यसपछि पटकपटक संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरूलाई सहमतिका लागि समय दिएका छन् तर दलहरू सहमतिको डोरी बाट्न सफल हुनु त कता कता प्रयाससम्म गरिरहेका छैनन् ।

१ चैतमा विपक्षी गठबन्धनले ११ गतेपछिका आन्दोलनका कार्यक्रम घोषणा ग¥यो । सभाध्यक्षले दलहरूलाई सहमतिका लागि त्यही दिनसम्म म्याद दिए । तर, एमाओवादीले १५ चैतपछि मात्र आन्दोलनका कडा कार्यक्रम ल्याउने भन्दै १५ गतेसम्म सहमतिका लागि समय दिन आग्रह गर्‍यो ।

सभाध्यक्ष नेम्बाङले पुनः म्याद थप गरे । त्यस अवधिमा पनि सहमति नभएपछि १५ चैतमा साँझ सभाध्यक्ष नेम्बाङले २३ चैतका बैठक आह्वान गरे ।

नेम्बाङले दलहरूले विषय वा प्रक्रियामा सहमति गरे संविधानसभाले त्यसलाई नै कार्यसूची बनाउने अन्यथा नियमावलीअनुरूप प्रक्रिया अघि बढाउने प्रयास परे र दलहरूलाई स्पष्ट पारे । तर, दलहरूले त्यस अवधिमा पनि सहमति गरेनन् ।

२३ चैतको बैठकमा दुई सभासद्को जिम्मेवारी दिने र अर्को बैठकको मिति तोकेर त्यस अवधिमा सहमति नभए नियमावलीले तोकेको प्रक्रियाका लागि दलहरूलाई आह्वान गर्ने कार्यसूची तयारी गरेर सभाध्यक्ष बसेका थिए । तर, त्यही समय अर्थात् २२ चैतमा संविधानसभाका पूर्वसदस्य एवं एमाले नेता रामनाथ ढकालको निधन भयो ।

संविधानसभा बैठकले पूर्वसदस्य ढकालको शोक प्रस्ताव पारित गरेर सात दिनपछि अर्थात् ३० चैतका लागि बैठक डाक्यो ।

दलहरूले पछिल्लो समय सहमति नजिक रहेको भन्दै सहमतिका लागि केही समय आवश्यक भन्ने गरेकाले त्यस अवधिमा सहमति होस् भन्ने आसयले सभाध्यक्ष नेम्बाङले सात दिनको समय दिएर संविधानसभाको बैठकको मिति तय गरे । तर, त्यस अवधिमा पनि दलहरू सहमतिमा पुग्न सकेनन् ।

२४, २५ र २६ चैतमा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले नेपाल बन्दको कार्यक्रम घोषणा गर्‍यो । अन्दोलन पनि सहमतिका लागि वार्ता गर्ने भन्दै मोर्चाले २४ गते मात्र सीमित गरेर बाँकी आन्दोलन फिर्ता लियो । केही चरणका वार्ता पनि भए । फेरि पनि सहमतिमा पुग्न दलहरू सकेनन् ।

संविधानसभाका अध्यक्षलाई ३० चैतको बैठकको कार्यसूची के हुने भन्ने चिन्ताले सताइरहेको थियो । त्यही बीचमा अर्को दुःखद घट्ना भयो । ०४८ र ०५१ सालमा एमालेका तर्फबाट निर्वाचित पूर्वसांसद् सलिमिया अन्सारी र पूर्व गृहराज्यमन्त्री समेत रहेका महेन्द्र यादवको निधन भयो । ३० चैतको बैठक पनि स्थगित भयो ।

सभाध्यक्ष नेम्बाङले अर्को बैठकको मिति ६ वैशाख अर्थात् आजका लागि तोेके । दलहरू सहमतिमा पुग्न सकेका छैनन् । आज दिउँसो ३ बजेका लागि डाकिएको बैठक पनि अर्को दुःखद घटनाका कारण शोक प्रस्ताव पारित गरेर स्थगित हुँदैछ ।

पटकपटक गरी पाँचपटक प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका र ०१५ सालको सल्लाहकार सभादेखि पूर्व ०७० सालको संविधानसभासम्मका सदस्य सूर्यबहादुर थापाको निधन भयो ।

त्यही कारण आजको संविधानसभा बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुने छ । सभाध्यक्ष नेम्बाङ दलहरूलाई अरू ४ दिन समय तोकेर संविधानसभाको अर्को बैठक डाक्दै त्यस अवधिमा पनि सहमति नभए प्रश्नावली निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा छन् ।

‘आइतबारेका बैठक पनि शोकप्रस्ताव मात्र पारित गरेर स्थगित हु्न्छ,’ सभाध्यक्ष नेम्बाङले भने, ‘दलहरूबाटै प्रस्ताव आओस् भनेर अहिले अर्को बैठकको मितिबारे निर्णयमा पुगिसकेका छैनौँ ।’ फेरि एकसाता नै दिने हो कि भन्ने प्रश्नमा उनले भने, ‘फेरि पनि एकसाताको समय दिन नमिल्ने भन्दै त्योभन्दा कम समय प्राप्त दिइनेछ ।’

शीर्ष दलका दोस्रो तहका नेताले संविधानका विवादित विषयमा समझदारी निर्माण गरेर शीर्षलाई ब्रिफिङ गरे पनि शीर्षतहले त्यसलाई ठोस रूप दिन बैठकसमेत गर्न सकेको छै्रन । दोस्रो तहका नेताबीचको छलफलबाट शनिबार नै बैठक बसेर शीर्ष नेता ठोस निष्कर्षमा पुग्ने अपेक्षा गरे पनि सहमति निर्माण हुन नसकेको हो । शनिबार बस्ने भनिएको शीर्षतहको बैठक नै बस्न सकेन ।

दलहरूले सहमतिका लागि सभाध्यक्षलई पटकपटक केही समय आवश्यक भएको बताउने गरे पनि यी दुःखद् घटनाका कारण उनीहरूले २३ चैतदेखि ६ वैशाखसम्म मात्र पनि १५ दिनको समय पाइसकेका छन् ।

तैपनि, उनीहरू सहमतिमा पुग्न सकेका छैनन् । संविधानसभा दुःखद् घटनाका कारण स्थगित हुँदा पनि दलहरू सहमतिका लागि समय उपयोग गर्नेभन्दा टार्ने बहानाको रूपमा मात्र सुःखद उपयोग गरिरहेका छन् ।

प्रतिक्रिया