युरोपमा जाडोका छोटा दिनहरू र लामा रात । बिहान ढिलो उज्यालो हुने र बेलुका चाँडै घाम अस्ताउने । जाडोका यी छोटा दिनहरूमा त्यसै अत्यास लाग्छ, डिप्रेसनले सताउँछ । बिहान काममा जाँदा पनि अँध्यारो, बेलुका घर फर्कंदा पनि अँध्यारो नै हुन्छ । कस्तो दिक्क लाग्छ ।
बिहान काममा जान साढे आठ बजे बाहिरको ढोका खोलें । अलि अँध्यारो नै छ, कोरिडोरको बत्ती बाल्न नभ्याउँदै पल्लो फ्ल्याटको कोरिडोरबाट कोही झटपट सलबलाएको आवाज आयो । मन चिसो भयो । उता हेरेको एउटा पहाडजस्तो अग्लो अजंगको मोटे मानिस कालो ज्याकेट लगाएको छ, पछाडि बोक्ने झोला बोकेर हिँड्न ठिक्क परेको छ ।
मैले आत्तिँदै हत्त न पत्त सोधें, ‘के गरेको हँ ? के छ काम यहाँ ?’ मनमा डर भन्ने चिज लागेको कम्ता त होइन । अलि चर्को गरेर बोले मलाई नै एक मुक्का दिएर ठाउँको ठाउँ लडाउलाजस्तो छ । हातका पाखुरा जंगली जनावरका जस्ता । जीउ हेर्दा पहाडजस्तो छ । उसको छेउमा म बबुरो मुसाजस्तो देखिन्छु । तैपनि, मेरो सानो बोली भए पनि ऊ मसँग डराएजस्तै छ । बिस्तारै ढोका ठेलेर मैले सोधेको प्रश्नको अनौठो उत्तर दिँदै गयो ।
‘यो घरमा मेरो काम थियो तर पर्दैन म आज फर्किन्छु । भयो, सकियो काम ।’
मैले उसले दिएको उत्तर मनमा एकपटक दोहोर्याएँ । ऊ पक्कै यहीं कोरिडोरमा पो सुत्या हुनुपर्छ । शंका भयो । एउटा पहाडजस्तो एमानको मान्छे तल गयो र मूल ढोका खोलेर बाहिर निस्कियो । म अझ माथिल्लो तलामा उक्लिएर बुर्जाबाट उसलाई तल हेरें । ऊ परको कारपार्कमा गएर उभिरहेको थियो । अब ऊ अन्तै कतै बाटो लाग्यो, गयो ।
पल्लो फ्ल्याटको पुरु र सोनुलाई बिहानै उठाएर जानकारी दिउँकी, दोधारमा छु । ‘तिम्रो ढोका अगाडि कोही उभिरहेको वा भुइँमा सुतेको हो कि के हो देखिएन । मलाई लाग्छ ऊ पक्कै सुतेको हुनुपर्छ । कोरिडोरको डोरम्याट सुत्नलाई प्रयोग गरिएजस्तो छ ।’ भनेर मनमा लाग्दालाग्दै पनि त्यसै काममा लागें ।
मन गरौं भा छ, एक अनौठो त्रास बोकेर काममा गएँ । अहिले विशेष विन्टरको बेला जाडोको उचाइ अति शिखरमा चढेको कि माइनस १०–१२ सेल्सियससम्म भएको छ । हिमपात सुरु भई नै सकेको छ । बाहिर निस्किँदा जाडोले कक्रयाएर अररो बनाउँछ । घरभित्र पस्दा तै रेडिएटरले तताएको छ । जाडोमा भोक र रोग नलागोस् भन्छन् । तर, यो बेला त्यही नै हुन्छ धेरै ।
बाटोमा कोही अरू नै झोला बोकेको बटुवालाई पनि घरबाट केही समयअघि गनगनाउँदै हिँडेको मानिस हो कि भनेर डर लाग्छ । अलिकति डरले अलिकति कौतुहलले हेर्छु । अनुहार ठम्याउने प्रयास गर्छु, अँध्यारोमा वास्तवमा मैले उसको अनुहार नै राम्ररी देखिनँ । उसको उचाइ नाप्छु, विचार गर्छु । कालो हल्का ज्याकेट लगाएको जिन्सको ट्राउजर सम्झन्छु । पछाडि सानो पुन्टे दोकाँधे झोला छ । उचाइ भन्ने हो भने मैले मज्जाले टाउको पछाडि ढल्काउनुपर्ने, अग्लो छ ।
कोही पनि भेटिएन बटुवाहरूको माझमा मैले खोजेको मानिस । खालि तिनै मानिसहरू जो सधैं बच्चालाई स्कुल पुर्याउन हतारिँदै जान्छन्, आउँछन् । कोही हतारिँदै काममा दौडेका छन् ।
बिहान काममा निस्कँदा भएको त्रास बेलुका घरमा भन्ने आवश्यकता नठानेर हो वा किन हो कुनै चर्चा गरिनँ । भोलिपल्ट बिहान काममा जान ढोका खेलें । हिजो बिहानको त्रास मनमा अझै बाँकी नै रहेछ । डराउँदै ढोका खोलें । ढोका खोलेर पाइला टेक्न भ्याएको छैन, त्यही हिजोको अजंगको आकार छ । त्यही हस्याङफस्याङ छ । त्यही झोला छ । त्यही ज्याकेट, त्यही पेन्ट सब त्यही छ । त्यो स्वरूपले फेरि मेरो सात्तो लियो । मुटुको चाल बढेर गयो ।
डरले आफैं बेहोस हुने बेला भा छ, तैपनि कराएँ, ‘किन यसरी यहाँ बसेको, सुतेको हँ ? यो यहाँ सुत्ने ठाउँ होइन ।’
कोरिडोरको बत्ती बालें, तीन तलाको बिल्डिङ झलमल भयो, ‘गएँ ! गएँ !’ भन्दै खुत्रुक–खुत्रुक सिंढी ओर्लियो । अबचाहिँ भित्र पसेर श्रीमान्लाई उठाएँ । छिमेकीहरूको डोर बेल बजाएँ । उनीहरू अत्तालिँदै बाहिर निस्के । तल झरेको त्यो मानिस बाहिरको ढोकाबाट निस्केर कता जाउँ गर्दै पो उभिन्छ । हप्तादिनभन्दा पनि धेरै भयो, हिउँ निरन्तर परिरहेछ, जमेर जताततै सेतै भएको छ । जाडोको तापक्रम माइनस १० मा झरेको छ ।
छिमेकी पुरु श्रेष्ठ सिंढीबाट ओर्लेर ‘ओ मेन, तिम्रो यो ठाउँ सुत्ने होइन किन यहाँ आएर सुत्छौ ? पुलिस बोलाइदिऊँ ?’ भन्दा हान्ने राँगोझैं आँखा पल्टाएर हेर्छ ।
‘बोलाऊ, बोलाऊ म पुलिससँग पनि डराउँदिनँ’ भन्दै अर्को धम्की दिन्छ ।
पुरु उसको मोबाइल फोनमा पुलिसलाई डायल गरेजस्तो गरेर फोनमा बोल्छन्, ‘यहाँ हाम्रो फ्ल्याटको कोरिडोरमा अपरिचित मानिस आएर सुतेको रहेछ । हामी रेसिडेन्सको ज्यानको सुरक्षा भएन । चाँडो पुलिस पठाइदिनुपयो ।’
अबचाहिँ त्यो अपरिचित ठूलो स्वरमा गनगनाउँदै बिस्तारै बाटो लाग्यो, अल्पियो । हामी सबैको निचोड निस्कियो यो मानिस पोल्यान्डबाट आएको हो । त्यो उसले बोलेको भाषाबाटै थाहा भयो । बिग्रेको मानिस हो । नत्र सबै पोलिसहरू काम गरेर आफ्नो बस्ने बासको राम्रो व्यवस्था गरेर बसेका हुन्छन् । अब आइन्दा तल मेन गेटको चाबी राम्ररी बन्द गर्नुपर्यो । जो ढिलो आउँछ, उसले चाबी राम्ररी बन्द गर्ने र सबै फ्ल्याटका परिवारमा खबर गर्ने भनेर निधो भयो ।
बिहान भेटिने माथिल्लो तलाका बच्चाहरूलाई स्कुल जाँदै गरेकी आमालाई नौलो खबर सुनाएँ । उनीहरूले त त्यो मानिसले रातभरि घुरेर सुत्न नदिएको, मादक पदार्थको गन्ध कोरिडोरमा गनाएर दुर्गन्ध भएको पो कुरा गर्छन् । माथिको फ्ल्याटबाट खेदाएर ऊ त यहाँ तल हाम्रो कोरिडोरमा पो आएर सुतेको रहेछ बा ! उसले त हाम्रो यो बिल्डिङमा बास बस्न थालेको त धेरै पो भइसकेको रहेछ ।
तलको मेन गेटमा भित्र–बाहिर आउँदा–जादाँ राम्ररी चाबी लाग्ने गरी बन्द नगर्नाले फाइदा त यो जन्तुले पो उपभोग गर्दै रहेछ । त्यो दिनदेखि थाहा भयो पीडित हामी सबै रहेछौं । तल मेन गेटमा सूचना लेखेर टाँसियो– ‘बाहिरको अपरिचित मानिस आएर हाम्रो बिल्डिङमा राति सुत्ने गरेकोले भित्र पस्दा र निस्कँदा सबैले मेन गेटमा चाबी राम्ररी लगाएर मात्र जानुहोला ।”
सूचनाले काम गरेछ । त्यो दिनदेखि बिहान काममा जाँदा त्यो अजंगको अपरिचितसँग भेट भएन, एकाबिहानै घम्साघम्सी बाझ्न पनि परेन । तर, पनि मनमा भने त्यही त्रास रहिरहेको छ ।
(जया राईको हालै प्रकाशित निबन्ध संग्रह ‘पार्क र पानीका थोपा’बाट ।)
प्रतिक्रिया