काठमाडौं, १५ कात्तिक । अभिनेत्री दीपाश्री निरौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को पक्षमा दिल खोलेर प्रचार प्रसारमा उत्रिएकी छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘तितो सत्य’का कारण लोकप्रिय हुन पुगेकी अभिनेत्री दीपाश्री अहिले राप्रपा नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार उद्धव पौडेललाई जिताउन कम्मर कसेर लागेकी छन् ।
काठमाडौंको क्षेत्र नम्बर ४ मा राप्रपा नेपालका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिएका पौडेल गोपीकृष्ण मुभिज् (प्रा)लि. का मालिक एवं फिल्ममेकर हुन् । हुन त पौडेललाई कलाकार एवं निर्माता मुनाल घिमिरेले पनि दिलै खोलेर प्रचार प्रसारमा सघाएका छन् । दीपाश्री र मुनालको प्रचार शैली र सहयोगबाट पौडेलपनि खुसी नै छन् ।
मुनाल दाङ कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । पार्टी सिद्धान्त विपरित राप्रपा नेपालका उम्मेदवार पौडेलका पक्षमा मत मागेको आरोपमा दाङ कांग्रेसले मुनालसँग स्पष्टीकरण सोध्ने तयारी पनि गरेको छ ।
अभिनेत्री दीपाश्रीले पौडेलको कोण सभामा ठूल–ठूलो स्वरले बोल्दै भोटपनि मागेको राप्रपा नेपालले जनाएको छ । दीपाश्रीले घर/घरमा पुगेर राप्रपा नेपाललाई भोट दिन समेत भन्न भ्याईन् ।
‘तितो सत्य’का अभिनेता दीपक गिरीसँग आक्कल/झुक्कल कांग्रेसका कार्यक्रमहरुमा देखिने दीपाश्रीलाई कांग्रेसीजनहरुले आफू समर्थक रहेको ठान्छन् । यद्यपि, दीपाश्रीले राप्रपा नेपालका उम्मेदवार पौडेलका पक्षमा मत माग्दै पर्चा वितरण गरे पछि कांग्रेसीहरु खिन्न भएका छन् । हुनत दीपाश्रीले कुनै दल विशेषको सदस्यता नलिएको उनका सहयोगीहरु बताउँछन् ।
फिल्ममेकर पौडेलको बुधबारको घरदैलो कार्यक्रममा दीपाश्री निरौला, मुनाल घिमिरे, निर्माता सुशील पोखरेल, कलाकार शर्मिला शर्मा, संगीतकार अर्जुन पोखरेल, निर्देशक मनीष पन्तलगायतका चलचित्रकर्मीहरुको पनि सहभागिता रहेको राप्रपा नेपालले जनाएको छ ।
यसैबीच, काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार गगन थापाको प्रचार प्रसारमा पनि कलाकारहरुले सघाएका छन् ।
शुक्रबार महांकाल क्षेत्रमा भएको घरदैलो कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, संगीतकार सुरेश अधिकारी, महेश खड्का, रचनाकार लोकराज अधिकारी, विपिन किरण, कलाकार हेमन्त बुढाथोकी, रमेश बुढाथोकी, सुदीप रेग्मीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया