काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिजा प्रकरणमा आफ्नो नाम जोडेर प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस काण्डमा आफू अन्यायमा परेको दाबी गर्दै न्याएको अपेक्षा गरेका छन् ।
कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिन नपर्ने पनि गृहमन्त्री लेखकले जिकीर गरे । उनले यसअघिका गृहमन्त्री रवि लामिछानेमाथि नै प्रश्न उठेपछि राजीनामा मागिएको बताए ।
उनले भने, ‘तत्कालीन गृहमन्त्री (रवि) को विषय उठेको छ। मुख्यसचिवमाथि प्रश्न उठ्यो, जुन सम्माननीय प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) ले मुख्यमन्त्री नियुक्ति गर्नुभएको थियो, मैले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ? ।
उनले थपे, ‘आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? मैले उठाएँ ? मैले संसदमा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ? ।
उनले अध्यागमन विभागका प्रमुख तीर्थ भट्टराईमाथि राज्यका निकायले अनुसन्धान गरिरहेको बताए । पत्रकार सम्मेलनमार्फत उनले आफूले पनि मन्त्रालय चलाउनुपर्छ भन्ने हेक्का राख्न समेत चेतावनी दिए ।
‘कर्मचारीका माथि प्रहरीले अुनसन्धान गरिरहेको छ’ उनले भने, ‘यसरी पूर्वाग्रहमा कर्मचारीमाथि भएको छानबिन राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव हुन्छ ? । गृहमन्त्री लेखकले सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको दाबी गरे ।
‘मैले कसैकाप्रति आग्रह पूर्वाग्रह राखेको छैन, न्याय त मैले पनि पाउनुपर्ने होला नि, कि मैले न्याय पाउन नहुने हो ? मेरा विरुद्ध कतै उजुरी छ ?’ उनले प्रश्न गरे । लेखकले विगतमा सञ्चारमाध्यमबाट समाचार आएका केहीलाई यसअघि नै अभियोजनसमेत दर्ता गरिसकेको बताए ।
प्रतिक्रिया