महिनावारी स्वच्छताका लागि ३९२ जना साइकल यात्रीले गरे र्याली

महिलाबीच नै विभेद हुने गरेकोमा चिन्ता

काठमाडौं । ११औँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर ३९२ जना साइकल यात्री सचेतनामूलक साइकल र्याली गरेका छन् । महिनावारी स्वच्छताका लागि ‍काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्यालीमा ३५२ जना महिलासहित ३९२ जना साइकल यात्रीले काठमाडौं, भक्तपुर र ललितपुर साइकल यात्रा गरेका हुन् ।

साइकल र्यालीको समापनका क्रममा बोल्दै सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमको समापन सभामा बोल्दै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहार सुधार हुनुपर्ने बताइन् । उनले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गरिन् ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको उल्लेख गरिन् । उनले महिनावारीका बेला हुने पारिवारिक सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जना मात्र महिला सहभागी भएको स्मरण गर्दै ८ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको उल्लेख गरिन् ।

साइकल र्यालीका सहभागीले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने वा अलग व्यवहार भोग्नुपर्ने असामाजिक मान्यता चिर्न र्यालीमा सहभागी भएको बताए । महर्जनले एक्सपोज नेपालमार्फत देशका विभिन्न जिल्लाका सयौँ महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाइ प्रयोग र बिक्रीमार्फत आर्थिक उपार्जनमा जोड्दै आएकी छन् ।

महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ काठमाडौको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली सुरु गरि ललितपुरको मंगलबजारमा समापन भएको हो । र्यालीमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल …, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, डिग्निटी विदआउट डेन्जर लगायतका संस्थाहरूले सघाएका महर्जनले जानकारी दिइन् ।

प्रतिक्रिया