काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र न्युजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा दुई पक्षीय हित, आपसी सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
उनीहरूबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए ।
उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका साथै अन्तराष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सो भेटको अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।
प्रतिक्रिया