विपक्षी दलको अवरोधले प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । आज बसेको बैठक सुरु हुना साथ गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलहरुले उनको राजीनामा माग्दै अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो ।

तर, आधा घण्टापछि पनि दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक आजको लागि स्थगित भएको हो । अब भोलि बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै सुरु भएको थियो । चार मिनेट मात्रै बसेको बैठकमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए।

बैठक स्थगितको सूचना सुनाएर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उनले आजको बैठक सुरु हुनुअघि पनि प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

त्यस अवधिमा पनि बैठक सञ्चालनबारे दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए ।

संसद् बैठक स्थगितपछि बसेको बैठकमा विपक्षीहरूले गृहमन्त्रीको राजीनामा नै बटम लाइन भएको दोहोर्याइरहेपछि बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको हो । हिँजो मंगलबारको बैठक पनि विपक्षी दलहरुकै अवरोधले स्थगित भएको थियो ।

प्रतिक्रिया