लुम्बिनी । लुम्बिनी प्रदेशसभा सांसद गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधान अनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकाले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन् ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशन अन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी थिइन् । छैटौँ अधिवेशनमा भने उहाँ कुनै बैठकमा उपस्थिति भएकी छैनन् । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधान अनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।
प्रतिक्रिया