उपसभापति पौडेलको गाडीमा पेट्रोल बम प्रहार

Ramchandra-Poudelकाठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका उपसभापति समेत रहेका तनहुँ–१ का उम्मेदवार रामचन्द्र पौडेल चढ्ने जीपमा पेट्रल बम प्रहार भएको छ ।

गृह जिल्ला तनहुँको रामजाकोटमा बुधबार मध्यराति अपरिचित समूहले पौडेलको बा ५ च ७५५५ नम्बरको जीपमा पेट्रोल बम प्रहार गरेर क्षति पुर्‍याई दिएको प्रहरीले जनाएको छ । उपसभापति पौडेल स्थानीय कार्यकर्ता गोविन्द गिरीको घरमा बास बसेका बेला पेट्रोल बम प्रहार भएको थियो ।

पेट्रोल बम प्रहार भए पनि पौडेललाई कुनै क्षति पुगेको छैन । पेट्रोल बम प्रहार लगत्तै आक्रमणकारी भागेको थियो । उनीहरुले पाँच वटा पेट्रोल पनि छाडेको छ ।

चुनावी प्रचार प्रसारका क्रममा उपसभापति पौडेल रामजाकोट पुगेका थिए । आक्रमणको कांग्रेसले निन्दा गरेको छ ।

यता, दाङको क्षेत्र नम्बर–२ की कांग्रेस उम्मेदवार सुशीला चौधरीको प्रचार–प्रसारमा प्रयोग गरिएको जीपमा पनि आक्रमण भएको छ ।

लालमटिया–४ स्थित युवराज भुसालको घरमा पार्किङ गरेर राखिएको लु १ अ ४५२३ नम्बरको जीपमा बुधबार राति अपरिचित समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट जीपका दुई वटा टायर र अन्य भागमा आंशिक क्षति भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

दाङकै सतबरिया–१ मा पनि एनसेलका कर्मचारी चढेको बा ९ च ९६४६ नम्बरको गाडीमा तोडफोड भएको छ । तोडफोडबाट गाडीका सिसा फुटेका छन् ।

त्यसै गरी, अर्घाखाँचीमा एमाओवादीका क्षेत्र नम्बर–१ का उम्मेदवार टोपबहादुर रायमाझीको चुनावी प्रचारमा प्रयोग भएको जीपमा आगजनी भएको छ ।

चुनावी अभियानमा प्रयोग गरिएको लु १ ज २३६० नम्बरको जीप चुत्रावेशीमा अपरिचित समूहले बुधबार राति आगजनी गरेको प्रहरीले जनाएको छ ।

यता, बागलुङमा ध १ ख ५४० नम्बरको बसमा आगजनी भएको छ । बिहुँ–४, पिडाल्नामा बुधबार राति नकावधारीले समूहले बसमा आगो लगाएको प्रहरी भनाई छ ।

बागलुङकै अमरभूमि गविसमा पनि अपरिचित समूहले लु १ त २८९८ नम्बरको जीप आगो लगाएको छ ।

सवारी साधनमा भएको आक्रमण र आगजनी नेकपा–माओवादीले गरेको एकीकृत माओवादीको आरोप छ । प्रहरीले घटनाका बारेमा अनसन्धान जारी रहेको भन्दै स्पष्ट पार्न मानेन ।

प्रतिक्रिया