‘सहकारी समस्या जटिल हुदै’

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्का सचिव कृष्णहरि बास्कोटाले सहकारी संस्थाहरू सिद्धान्तमा अडिक रहेर अघि बढ्न नसके समस्या थप जटिल हुने बताएका छन् । सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन राज्य नचुक्ने तर सहकारीको महत्त्वपूर्ण सहयोग आवश्यक पर्ने बताए । सहकारीले बैंकिङ कारोबार गर्न थालेको, सहकारीको सिद्धान्त पालना नगरेको, सहकारीलाई पारिवारिक सदस्यतामा सीमित गरेको, आर्थिक मितव्ययिता अपनाउन नसकेको र त्यस्ता व्यक्तिहरूमाथि दण्डहीनता मौलाएको बताए । दण्डहीनताका कारण सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताए । मिडिया इन्टरनेसनलले  आयोजना गरेको कार्यक्रममा सचिव बास्कोटाले देशमा धेरै सहकारी भएकोमा अब यसलाई व्यबस्थित गरिनुपर्नेमा जोड दिए ।
‘सहकारीको विकासविना आर्थिक विकास असम्भव रहेको र सहकारीमार्फत काम गर्नेलाई राज्यले सेवा सुविधा दिन कन्जुस्याइँ गर्ने छैन ।’ बाँस्कोटाले भने, ‘केही निजी क्षेत्रबाट सहकारीलाई राज्यले सहयोग गरेकोमा रोष प्रकट गर्नु जायज होइन ।’ सहकारी, निजी क्षेत्र र सरकार मिलेर अघि बढे मात्रै देशको अर्थतन्त्र माथि उठ्ने धारणा व्यक्त गरे । आगामी आर्थिक बजेटमा सहकारीलाई प्राथमिकतामा राख्ने बताउँदै उनले सहकारीलाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सरकारले सहकारीलाई तीनखम्बे अर्थ नीतिमा राखे पनि आर्थिक बजेट निकासमा कन्जुस्याइँ गरेको भन्दै आगामी बजेटमा सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सहकारीमार्फत देशमा विकास सम्भव भएको उल्लेख गर्दै सहकारीबाटै देशको अर्थतन्त्रमा सुधार हुने दाबी गरे । सहकारी तालिम र शिक्षाको आवश्यकता बढी भएको हुँदा बजेट त्यसतर्फ पनि लक्षित हुनुपर्ने बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक रविन्द्र केसीले शिक्षा र तालिमको अभावमा सहकारीको गुणस्तर खस्किएको उल्लेख गर्दै शिक्षा र तालिममा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले आगामी बजेट विनियोजन गर्दा शिक्षा र तालिममा जोड दिन सके स्वरोजगारका सम्भावना मजबुत हुने दाबी गरे । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य दक्ष पौडेलले तीन खम्बे अर्थ नीतिमा राखिएको सहकारीमा प्रयाप्त बजेट नभएको गुनासो गरे । सहकारीलाई धेरै बजेट छुट्याउँदा देशको अर्थतन्त्रमा राम्रै प्रभाव पर्ने बताए । उत्पादनमूलक सहकारीलाई सरकारले जोड दिन सके स्वजगारीका प्रशस्त सम्भावना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए ।

प्रतिक्रिया