शुल्क घटाउन कीर्तिपुर नगरपालिका तयार

काठमाडौं : कीर्तिपुर नगरपालिकाले स्थानीय नागरिकको माग स्वीकार गर्दै आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पूर्वनिर्धारित करको दायरा घटाएको छ ।

‘हाल भवन निर्माण इजाजतपत्र नामसारी गर्दा नक्सापास दस्तुरको शतप्रतिशत दस्तुत लिने गरिएकोमा एकाघरमा तीनपुस्तेभित्र नामसारी गर्दा सामान्य सिफारिस दस्तुर मात्र लाग्ने भएको छ,’ कीर्तिपुर नगर जनदबाब समाजका संयोजक नरेश कटवालले जानकारी भने ।
केही समयअघि बसेको कीर्तिपुर नगरपरिषद्को बैठकले निर्णय गरेअनुसार यसप्रकारको व्यवस्था लागू गर्न लागिएको कटवालको भनाइ थियो, ‘नगरवासीलाई अनावश्यक रूपमा परेको मार अब यस व्यवस्थाले केही मात्रामा भए पनि कमी गरेको छ ।’ नागरिक समाजको अगुवाइमा गठन भएको कर दस्तुर पुनरावलोकन सिफारिस समितिले करिब चार महिनाअघि सिफारिस गरेको आधारमा शुल्क कटौती गर्न नगरपालिका सहमत भएको हो ।
‘संशोधित व्यवस्थाअनुसार एकाघरको नक्सापास नामसारीमा अब पहिलाको दस्तुरमा केबल २५ प्रतिशत मात्र शुल्क लाग्ने भएको छ,’ नगरपरिषद्को बैठकको निर्णयमा भनिएको छ, नगरपालिका गठनपछि भवन निर्माण इजाजतपत्र लिई तोकेको म्यादभित्रै निर्माण सम्पन्न गरे पनि निर्माण सम्पन्न प्रमाणपत्र लिन बााकीका हकमा मात्र एकपटकलाई एक वर्षको सार्वजनिक सूचना लिई सो म्यादभित्र प्रमाणपत्र प्राप्त गर्नका लागि आवेदन दिनेलाई १० प्रतिशत मात्र विलम्ब दस्तुर लिई निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराइनेछ ।
जनदबाब समूहमा अधिवक्ता राजु बस्नेत, डा. चन्द्रमान बज्राचार्य, रमेशकुमार महर्जन, राजकुमार थापा तथा संयोजकमा कटवाल रहेका छन् । धितो प्रयोजन कर्जा, अंशबन्डा नामसारी, भवन निर्माण इजाजतपत्रको कर छुट मात्र भएको होइन, वैज्ञानिक ढंगबाट जग्गाको किसिम नतोकिएसम्मका लागि मालपोत शुल्क घटाउन र घरजग्गा करमा सहुलियत दिन नगरपालिका सहमत भएको बताइएको छ ।

प्रतिक्रिया