वासिंगटन । लियोनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले मंगलबार बिहान हार्ड रक स्टेडियममा फिफा क्लब विश्वकपमा इतिहास रच्न सफल भएको छ । ब्राजिलको पाल्मिराससँग २–२ को बराबरी खेलेपछि क्लब विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो एमएलएस क्लब बनेको हो ।
२०२५ फिफा क्लब विश्वकपमा समूह ‘ए’ मा दोस्रो स्थान हासिल गरेसँगै इन्टर मियामीले आइतबार एटलान्टा युनाइटेडको मर्सिडिज–बेन्ज स्टेडियममा अन्तिम १६ मा फ्रान्सेली पावरहाउस पेरिस सेन्ट–जर्मेनको सामना गर्नेछ । पिएसजी साविक च्याम्पियन्स लिग विजेता टोली हो ।
पिएसजीसँगको भेट पक्का गर्नु पहिले मियामीले २–० को अग्रता लिएको थियो । तादेओ एलेन्डे र लुइस सुआरेजको गोलमा बनाएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा पिएसजीको सामना गर्नुपरेको हो ।
खेलको १६औँ मिनेटमा सुवारेजको पासमा एलेन्डेले मियामीलाई अग्रता दिलाएका थिए । ६५औँ मिनेटमा ब्राजिलियन टोलीलाई २–० ले पछि पारेको थियो ।
दोस्रो हाफमा आक्रामक बनेको पाल्मिरास ८०औँ मिनेटमा पाउलिन्होको गोलमा खेलमा फर्किने संकेत गरेको थियो । त्यसको ७ मिनेटपछि मौरिसिओले गोल थप्दा समूहको शीर्ष स्थानमा पुगेको हो ।
समूह ‘ए’ को उपविजेता बनेसँगै इन्टर मियामीले समूह ‘बी’ को विजेता पीएसजीसँग नकआउटमा खेल्ने भएको हो । मेस्सी यसअघि पिएसजीमा सम्झौता सकिएपछि मियामीमा आवद्ध भएका हुन् । अब उनी आफ्नै पूर्व क्लबविरुद्ध मैदान उत्रिनेछन् ।
प्रतिक्रिया