भैरहवा । रूपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका खेलमा न्यु होराइजन क्रिकेट क्लब, टिम एभेन्जर्स र एसियन बुद्ध विजयी भएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा १४० रन बनायो । ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनायो र हार बेहोरे । होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भए ।
यस्तै, दोस्रो खेलमा टिम एभेन्जर्सले साई ग्लोबल एकेडेमीलाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको टिम एभेन्जर्सले ६ विकेट गुमाएर ७८ रन बनायो । प्रतिउत्तरमा साई ग्लोबल ४० रन बनाउँदा अलआउट भयो । टिम एभेन्जर्सका शाहद अर्याल प्लेयर अफ द म्याच भए ।
यस्तै, सोमबार भएको तेस्रो खेलमा एसियन बुद्धले बुटवल क्रिकेट क्लबलाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एसियन बुद्धले ६ विकेट गुमाएर ११५ रन बनायो । जबाफमा बुटवलले २ विकेट गुमाएर ९१ रन मात्रै बनायो । खेलमा एसियन बुद्धका अभिशेष गौतम प्लेयर अफ द म्याच भए ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा सञ्चालित प्रतियोगिता यही ९ असारसम्म चल्ने छ । प्रतियोगिताको विजयी टिमले ८० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने २ वटा टिमलाई १०–१० हजार रुपैयाँ प्रदान गरिने छ ।
आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २०० रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५०० तथा दर्शकदीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५०० पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया