हेटौँडा । हेटौँडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौँडास्थित हेटौँडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ४ बिधाअन्तर्गत १२ वर्ष मुनिका र १२ वर्ष माथिका महिला, पुरुषहरू सहभागी भएका थिए । जसअन्तर्गत पुरुषतर्फ १२ वर्षमुनि डिकन महतरा प्रथम, आयुस स्याङ्तान द्वितीय भएका छन् । त्यस्तै १२ वर्ष माथिको बिधामा बज्र दोङ प्रथम, सुनिल लामा द्वितीय र आयुश रुम्बा तृतीय भएका छन् ।
महिलातर्फ १२ वर्षमुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्वितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथिको विधामा काठमाडौँकी मुस्कान मगर प्रथम, नायना शाक्य द्वितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन् ।
उक्त प्रतियोगितामा महिलातर्फ १२ वर्षमुनि रश्मी सूचिकार, १२ वर्षमाथि निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथि सुशील श्रेष्ठ उत्कृष्ठ स्केटर खेलाडी बन्न सफल भएका छन् ।
करिब १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई १० हजार, ५ हजार र ३ हजार नगद तथा सिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए । साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ठ स्केटर खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्रसहित २ हजार प्रदान गरिएको महासचिव थापाले बताए ।
प्रतिक्रिया