पुरुष यु–१६ क्रिकेट : नेपाललाई सिंगापुरले दियो १३९ रनको लक्ष्य

काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई जितको लागि १३९ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो ।

सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुलाई १३८ रनमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ ।

नेपालको समूहमा सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया