इजरायल र इरानबीच चलिरहेको लडाइँलाई लिएर नेपाली समाजको एउटा तप्काले विश्वकप फुटबल म्याचका रूपमा मनोरञ्जन लिइरहेको छ । इरानले इजरायललाई हान्दा एउटा तप्काले खुसी मनाउने, इजरायलले इरानलाई हान्दा अर्को तप्काले खुसी मनाउने बिडम्वनापूर्ण अवस्थामा नेपाली समाज पुुग्नु भनेको ज्यादै ठुलो दुर्भाग्य हो । नेपालीहरूको आइक्यु लेबल विश्वमै सबैभन्दा कमजोर रहेको प्रतिवेदन जापानको एउटा संस्थाले दिएको भन्दै केही वर्षअघि निकै ठुलो चर्चा भएको थियो । त्यो प्रतिवेदन आधिकारिक हो वा होइन ? विश्लेषणको छुट्टै पाटो हो, तर मध्यपूर्वको यो लडाइँमा इरानले इजरायलमाथि प्रहार गरेको मिसाइल सफल हुँदा खुसीयाली मनाउने नेपालीहरूको संख्या उल्लेख्य हुनुले पनि आइक्यु लेबल कति छ ? भन्ने कुरा पुष्टि हुन्छ ।
इजरायलमा करिब साढे ५ हजार संख्यामा नेपाली रहेको अनुमानित तथ्यांक छ । जसमध्ये धेरैजसो नेपालका आमाहरू हुन् । आफ्ना बालबच्चा स्कुल जाने उमेर पुगेपछि रोजगारीका लागि इजरायल गएका आमाहरूले त्यहाँ ज्येष्ठ नागरिकको सेवा गर्ने जिम्मेवारी पाएका छन् । त्यस वापत उनीहरूले आकर्षक तलब सुविधा मात्रै पाएका छैनन्, इजरायल सरकारले राम्रो इज्जतसमेत दिएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली महिला मध्ये सबैभन्दा सुरक्षित इजरायलमा छन् । यसैगरी अन्य देशबाट रोजगारी गरी स्वदेश फर्केकाहरू बैंक ब्यालेन्सको रकम खर्च गरेर बाँचिरहेका छन् । तर इजरायलबाट फर्कनेहरूले पैसा मात्रै ल्याएका छैनन्, सीप र जाँगर पनि ल्याएका छन् । उनीहरूले आफ्नो कमाई उद्यममा खर्च गरेका छन् । नेपाली आमाहरूका लागि इजरायलको रोजगारी सर्वोत्तम रहेको छ । इजरायलको भूमिमा मिसाइल खस्दा यी आमाहरू सुरक्षित हुँदैनन् । एक हिसाबले इजरायलमा मिसाइल खस्नु र नेपालमा मिसाइल खस्नु उस्तै उस्तै हो । यति पनि हेक्का नराखी इजरायली भूमिका इरानी मिसाइल खस्दै गर्दा ताली बजाउने नेपालीहरू नेपालका लागि घातक हुन सक्छन्, त्यसैले उनीहरूमा विवेक तथा जनचेतना जगाउनु आवश्यक छ ।
२ देशबीचको लडाइँलाई र खेलकुद प्रतियोगितालाई एकै ढंगले पक्ष र विपक्षमा लागेर गतिविधि गर्नु युक्तिसंगत हुँदैन । लडाइँलाई हेर्ने दृष्टिकोण बनाउँदा जहिले पनि आफ्नो देशको केन्द्रीय हितलाई आधार बनाउनुपर्छ । जुन सुझबुझ छिमेकी देश भारतका जनतामा देखिन्छ । यो युद्धमा भारत तटस्थ बस्नु र भित्रभित्रै इरानलाई साथ दिनु स्वभाविकै हो । किनकी भारतले इरानबाट सस्तो मूल्यमा पेट्रोलियम पाइरहेको छ । दुरी नजिक भएकोले इरानबाट पेट्रोलियम ढुवानी गर्न भारतलाई सस्तो पर्छ । यसैगरी इरानले ठुलो परिमाणमा भारतबाट चामल, गहुँ, फलफूल, तरकारी लगायतका कृषि उपज खरिद गर्ने गरेको छ । इरानको तुलनामा इजरायलसँग भारतको व्यापारिक सम्बन्ध अत्यन्त कम छ । नेपालसँगको इजरायलको घनिष्ट मित्रता पनि भारतलाई मन परिरहेको छैन । त्यसैले भारतीय टेलिभिजन च्यानलले प्रसारण गरेका सामग्रीहरू दिमागमा बोकेर इरानको पक्ष लिँदै इजरायलमाथि धारे हात लगाउनुभन्दा अघि हामी नेपालीले ठण्डा दिमागले सोचौँ ।
यो युद्धमा कथंकदाचिक इरानसँग इजरायल पराजित भयो भने नेपालमा पर्ने नोक्सानी सानो हुँदैन । इजरायललाई विश्व मानचित्रबाटै मेटाउने घोषित उद्देश्य बोकेको इरान सफल भयो भने त्यसपछि उसको लक्षमा कुवेत, संयुक्त अरब इमिरट्स र साउदी अरब पर्ने निश्चित जस्तै छ । यी ३ वटा देश निशानामा पर्दा कम्तिमा पनि २० लाख नेपालीको रोजगारी गुम्नेछ । तर, यो खतरा यतिमा मात्रै सीमित छैन । अहिलेको लडाइँको मूल जड भनेकै आणविक अस्त्र निर्माण गर्ने इरानको प्रयास हो । ९० वर्ष उमेर काटिसकेका धार्मिक नेताको प्रत्यक्ष शासन रहेको इरान आणिविक शक्तिसम्पन्न हुनु भनेको विश्वकै लागि खतरा हो । किनकी गैरजिम्मेवार तानशाह रहेको देशमा आणविक हतियार दुरुपयोग हुने प्रवल संभावना रहन्छ ।
त्यसो त कस्तो शासन व्यवस्था अपनाउने ? भन्ने कुरा इरानको आन्तरिक मामिला हो भन्नेहरू पनि धेरै छन् । तर त्यो अवशर जनताले प्राप्त गरेका छन् वा ? कुनै गिरोहले ? भन्ने प्रश्न यथावत छ । किनकी इरानमा आयतुल्लाको निरंकुश शासन छ । आयतुल्ला भनेको धर्मगुरुको सर्वोच्च पद हो । धर्मगुरुको निरंकुश शासन सुरु हुनुभन्दा अघि इरान आर्थिक रूपमा मात्रै समृद्धि थिएन, शिक्षा, स्वास्थ्यलगायत हरेक दृष्टिले अब्बल थियो । खासगरी इस्लामिक देश भइकन पनि महिला शिक्षा तथा महिला सहभागितामा अब्बल देश मानिन्थ्यो । महिलालाई हिजाव लगाउन प्रतिबन्ध लगाइसकिएको थियो । तर आयोतुल्ला शासन सुरु भएको केही दशक बित्दानबित्दै सैन्य शक्तिमा बाहेक इरानको हालत तहसनहस भइसकेको छ । प्राध्यापक तथा वैज्ञानिक हजुरआमाका नातिनीहरू यतिबेला विद्यालय शिक्षाबाट वञ्चित छन् ।
इरानी जनता अधिकारको आन्दोलनका लागि लडेको दशकौँ भइसक्यो । यो अधिकारको आन्दोलनमा लागे वापत मारिनेको संख्या लाखौँ छ । महिला आन्दोलनकारीलाई सबैभन्दा दर्दनाक तरिकाले फाँसी दिने गरिन्छ । तैपनि पुरुषको तुलनामा इरानी महिलाहरू ज्यानको पर्वाह नराखी आन्दोलनमा उत्रिइरहेका छन् । बृहत्तर अधिकारको माग गर्दै इरानका महिला देशको सर्वोच्च धार्मिक निकायविरुद्ध आन्दोलनमा उत्रिन थालेको करिब ३ दशक बितिसकेको छ । धार्मिक सत्ताले आन्दोलनकारी महिलाविरुद्ध गर्ने गरेको दर्दनाक दमन कहालीलाग्दो छ । इरानी महिलाले सन् १९८१ मा कार्यान्वयन आएदेखि नै हिजाब कानुनलाई चुनौती दिँदै आएका छन् । उनीहरू हरेकपटक सरकारबाट कतिसम्म माग गर्न सकिन्छ भन्ने परीक्षण गरेझैँ देखिन्छन् ।
हरेक युवा पुस्ताले अघिल्लो पुस्ताभन्दा बढी दृढताका साथ माग राखेको देखिन्छ । त्यही साहसको प्रतीक हो पछिल्लो समय सार्वजनिक रूपमा हेड स्कार्फ हटाउँदै गरिएका दृश्य । महिलाहरू अहिले अनिवार्य हिजाबको प्रयोगको अन्त्यको माग गर्ने स्थानमा आइपुगेका छन् । इरानी महिला अधिकारकर्मीले पछिल्लो समय सम्बन्धविच्छेद, सम्बन्धविच्छेदपछि बालबच्चाको स्वामित्व तथा पुरुष अभिभावकको स्वीकृतिविना काम गर्ने तथा यात्रा गर्ने अधिकारमा बहस चलाइरहेका छन् ।
सन् २०१७ मा एउटी ३१ वर्षीया आमा बिदा मोभाहिदले तेहरान सहरको बीच भागमा उभिएर उनको हिजाब निकालिन् र अगाडिको भिडतर्फ लठ्ठीमा राखेर हल्लाएकी थिइन् । उनको कदमलाई धेरै महिलाले पछ्याउन थालेपछि यसले अभियानकै रूप लियो, जसलाई पछि सरकारले दमन गरेको थियो । सन् २०१९ मा २९ वर्षीया साहर खोडायारी पुरुष फुटबल खेल हेर्न लुकेर रंगशाला पस्ने प्रयास गर्दै गर्दा पक्राउ परिन् । पक्राउको विरोधमा उनले आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् । इरानी सरकारले अन्तर्राष्ट्रिय फुटबल अधिकारीको दबाबमा महिलालाई रंगशाला प्रवेशमा बन्देज लगाउने कानुन परिवर्तन गर्यो । भलै उनीहरूलाई रंगशालाको अलग क्षेत्रमा राखिन्छ ।
यता मरुभूमिको जिम्मा पाएको इजरायलले कृषि उपज आयातमा चमत्कार गरेको मात्रै छैन । उसका आविष्कारहरूले विश्व जगतलाई ठुलो योगदान पुर्याइरहेको अवस्था छ । इरानका महिला र इजराइलका महिलाबीच कुनै तुलना हुनै सक्दैन । इजरायलमा सतप्रतिशत महिला साक्षर छन् । इजरायलको उच्च प्रविधिसम्बन्धी उद्योगमा एकतिहाइ कामदार महिला रहेका छन् । इजरायल इनोभेसन अपरेट्रिटले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जारी गरेको वार्षिक प्रतिवेदनअनुसार इजरायलको उच्च प्रविधि उद्योगका २२ दशमलव ६ प्रतिशत वरिष्ठ अधिकारीहरू महिला छन् ।
त्यसैगरी ९ दशमलव ४ प्रतिशत प्रमुख कार्यकारी अधिकारीहरू महिला रहेका छन् । यसबाहेक, इजरायलको सबैभन्दा ठुलो र सक्रिय उद्यम पुँजी कम्पनीहरूमा १६ दशमलव ५ प्रतिशत साझेदारहरू महिला छन् । सैन्य सेवामा विकास र साइबर भूमिकामा सेवारतमध्ये २३ प्रतिशत महिलाहरू छन् । गर्भवती महिलाको सम्मान गर्दै स्वास्थ्यसम्बन्धी हेरचाहमा इजरायल विश्वकै पहिलो नम्बरमा छ । भलै मानव विकास सूचकांकमा इजराइलको स्थान २५औँ नम्बरमा छ । तैपनि १ पूर्णांकमा शून्य दशमलव ९२५ अंक इजरायलको छ । उसले पूर्णांक हासिल गर्न नसक्नुको मुख्य कारण सुरक्षा क्षेत्रमा ठुलो बजेट लगानी गर्नुपर्ने वाध्यता हो । किनकी ऊ अस्तित्व नै मेटाउने घोषित उद्देय शत्रु राष्ट्रहरूद्वारा घेरिएको छ । जसमध्ये इरानले आणविक अस्त्र बनाउँदै गरेको सूचना उसले पाएको छ ।
आणविक अस्त्र बनाउन इरान सफल भयो भने आफ्नो नक्सा विश्व मानचित्रबाट मेटिने छ भन्ने बुझेको इजरायल जीवन र मरणको प्रश्न बनाएर इजरायलमाथि आक्रमणमा उत्रेको छ । तर इरानको आणविक हतियार कारखाना नष्ट गर्ने मिसाइल आफूसँग नभएको भन्दै अमेरिकासँग गुहार मागिरहेको छ । अमेरिकाले यो हतियार उपलव्ध नगराए युद्ध लम्बिने निश्चित छ । यो युद्ध लम्बिनु भनेको विश्व मानव जगतका लागि ज्यादै ठूलो अनिष्ठ हो । रुस र युक्रेनको जस्तो युद्ध यो होइन ।
नेपालले सिक्नुपर्ने पाठ
इजरायललाई स्वतन्त्र देशका राष्ट्रका रूपमा मान्यता दिने एसियाकै पहिलो देशका रूपमा नेपालले कायम गरिएको इतिहासलाई अहिलेसम्म गौरवमय र ज्यादै सुझबुझपूर्ण मानिँदै आएको छ । भलै सैन्य शक्ति तथा रणनीतिका मामिलामा इजरायलसँग सहकार्य गर्ने दूरदर्शी राजनेता बिपी कोइरालाले गरेको सम्झौता अघि बढाउन २०१७ सालको कदम लगत्तै सक्रीय शासक बनेका राजा महेन्द्र डराए । तै पनि मैत्रीपूर्ण संबन्धलाई निरन्तरता दिन उनी चुकेनन् ।
नेपाल चीन र भारतजस्ता भीमकाय देशको बीचमा रहेको नेपालका लागि एउटै उपाय भनेको इजरायलको सैन्य रणनीतिबाट पाठ सिक्नु हो । ९ करोड जनसंख्या र १६ लाख वर्गकिलोमिटर क्षेत्रफल भएको विश्वकै १७औँ सैन्य शक्ति इरानसँगको लडाइँमा करिब २० हजार वर्गकिलोमिटर क्षेत्रफल र ९० लाख जनसंख्या भएको इजरायल हावी हुनु भनेको नेपालका लागि ठुलो शिक्षा हो । नेपालभन्दा धेरै (८ गुणा) सानो र धेरै नै कम जनसंख्या भएको इजरायलको सैन्य शक्तिलाई ठुलाठुला शक्ति राष्ट्रहरूले पनि नजरअन्दाज गर्न सक्दैनन् । इजरायल सामारिक रूपमा विश्वमा किन अग्रणी छ ? डेढ लाख वर्गकिलोमिटर क्षेत्रफल र ३ करोड जनसंख्या भएको नेपालले मनन् गर्नै पर्छ । इजरायलले आफ्नो देशका सबै जनतालाई अनिवार्य सैन्य तालिम दिने गरेको छ । थोरै जनसंख्या भएको सानो देशले अपनाउने विधि भनेको यही हो ।
प्रतिक्रिया