समाज रूपान्तरणको आधारशिला

राष्ट्रिय एकता भनेको देशको मजबुति र समृद्धिको आधारशीला हो । जब नागरिकहरूबीच एकता हुन्छ तब मात्र राष्ट्र विकास, समृद्धि र स्थायित्वतर्फ अघि बढ्न सक्छ । आपसी द्वेष, जातीय विभेद र धार्मिक असहिष्णुताले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । जसले देशमा अशान्ति ल्याउन सक्छ ।

समाजमा रहेका असमान व्यवहार, चलन, क्रियाकलाप र नियम कानुनलाई विस्थापित वा क्रमिक सुधार गरी समाजलाई समानता र समृद्धिको दिशाबोध गराउने प्रक्रिया सामाजिक रूपान्तरण हो । सामाजिक परिवर्तनको प्रबन्ध गर्न र समाजको भावी विकास तथा व्यवहारलाई विनियमित गर्न सभ्य राज्यले सामाजिक अध्ययन शिक्षामार्र्फत सुधारात्मक र दण्डात्मक विधिहरूको तर्जुमा, निर्माण र कार्यान्वयन गर्छ ।

सामाजिक अध्ययन शिक्षा कुनै पनि राष्ट्रको दिगो विकास, नागरिक चेतना तथा राष्ट्रिय एकताको मेरुदण्ड हो । यसले व्यक्तिलाई आफ्नो समाज, इतिहास, भूगोल, राजनीति, संस्कृति, धर्म, सम्प्रदाय, भाषा र मूल्यहरूको गहिरो बोध गराउँदछ । सामाजिक अध्ययनले राष्ट्रका विविधता भित्रको एकतालाई बुझ्न सहयोग पु¥याउँछ । समाजका सम्पूर्ण नागरिकलाई समान दृष्टिकोणबाट हेरिने वातावरण तयार पार्दछ ।

वास्तवमा समाज विभिन्न मूल्य, मान्यताहरूको केन्द्रीकृत अभिव्यक्ति हो । निश्चय नै सामाजिक दायित्व तथा सामाजिक अवयवहरू नै समाज रूपान्तरणको आधारशिला हो । सामाजिक अध्ययन शिक्षा कोरा किताबी विषय या ज्ञान होइन, यो जीवनको भोगाइ हो, सिकाइ हो । जीवन जिउने अविच्छिन्न कला हो । समाजमा विभिन्न प्रकृतिका मानिसहरू हुन्छन् । जसको चालचलन फरक–फरक हुन्छ । धर्म फरक हुन्छ । चाडपर्व फरक–फरक तरिकाले मनाउँछन् । वर्गीय दृष्टिकोण फरक हुन्छ । समाजलाई बुझ्ने र बदल्ने सोचाइ भिन्न–भिन्न हुन्छ । यद्यपि यी सबैलाई सामाजिक सम्बन्धको आधारमा बलियो बनाउने सामाजिक शिक्षाले हो ।

जसको अध्ययन, अनुसन्धानले विभेदीकरणको सोचाइलाई हटाउँछ । समाजिक सम्बन्धलाई दरिलो बनाउँछ । देशलाई एकतावद्ध बनाउन सहजीकरण गर्दछ । नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको संगम भूमि हो । यस्तो विविधताले कहिलेकाहीँ असमझदारी पनि निम्त्याउन सक्छ । त्यस्ता असमझदारीलाई समयमा नै निर्मुल पारिएन भने समाज र राष्ट्रका मान्यताहरू विघटनको चक्रब्यूहमा फस्ने जोखिम हुन्छ । यस्ता परिस्थितिमा सामाजिक अध्ययन शिक्षाले एकअर्काको मनोभावना बुझी, एकअर्काको संस्कृतिलाई बुझ्न, आदर गर्न र स्वीकार गर्न प्रेरित गर्दछ । जसको कारण सह–अस्तित्व निर्माण हुन्छ ।

खुला प्रजातान्त्रिक राज्यव्यवस्थामा सामाजिक रूपान्तरण प्रक्रिया लामो र पट्यारलाग्दो हुन्छ । किनकि बहुसंख्यकको सहभागिता, छलफल र जनमतका आधारमा परिवर्तनका आधारहरू तयार गरिन्छ र कालान्तरमा तदअनुसार सनैसनै समाजले ग्रहण गर्छ । स्रोत साधनको पनि धेरै खर्च हुन्छ । तर संविधान, कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार गरिने यस्ता सामाजिक परिवर्तनका प्रयासहरू कुनै एउटा जातजाति, वर्ग वा समूह केन्द्रीत नभई बृहत्तर सामाजिक हितका लागि हुन्छन् । त्यसैले यसबाट हुने रूपान्तरण सर्वमान्य तथा दीर्घकालीन हुन्छन् ।

सामाजिक अध्ययन शिक्षाले सह–अस्तित्व, मातृत्व, समानता, धर्मनिरपेक्षता र संविधानका मूलभूत सिद्धान्तलाई प्राथमिकतामा राखेको हुन्छ । जातीय, धार्मिक र भाषिक विविधताबीच समझदारी र सद्भाव कायम राख्न ठुलो भूमिका खेलेको हुन्छ । यस्तो सद्भाव र समझदारी राष्ट्रलाई मजबुद बनाउन अपरिहार्य हुन्छ । सामाजिक अध्ययनले राष्ट्रिय गौरवका विषयहरू, नेपालको इतिहास, राष्ट्रिय पर्वहरू सहिदहरूको राष्ट्र निर्माणमा योगदान र मानवअधिकारका विषयमा फराकिलो ज्ञान गराउँछ । जसले आफ्नो देशको गौरवशाली इतिहास र संविधानबारे जानेको हुन्छ उसमा देश प्रेम र राष्ट्रियता स्वतः विकसित हुन्छ । यही नै देश प्रेम हो । राष्ट्रिय एकताको जग हो । निश्चय नै एउटै राष्ट्रभित्र बसोवास गर्ने विभिन्न जाति, भाषा, धर्म, संस्कार र सांस्कृतिक विविधताबीचको आपसी समझदारी र सद्भाव नै राष्ट्रिय एकता हो । नेपालको सन्दर्भमा यो एकता झनै महत्वपूर्ण छ । किनभने यहाँ धेरै जातीय समूह र परम्पराहरू जीवित छन् ।

मानिस जुन समाजमा जन्मन्छ, त्यही समाज र त्यहाँको सबैखाले वातावरणसँग समायोजन गराउन सहयोग पु¥याउने विषय नै सामाजिक अध्ययन हो । यसले मानिस मानिसबीच, मानिस र समुदायबीच तथा मानिस र आत्मबीच अन्तक्र्रिया र मनोवाद गराउँछ । परिवार समाजको प्रारम्भिक स्वरूप हो भने परिवारको बृहत् र संगठित रूप समाज हो । समाजमा बस्ने हरेक मानिसलाई त्यो समाजको सामाजिक, सांस्कृतिक र भौतिक वातावरणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट प्रभावित गर्दछ । समाज नै मानिसको पहिलो पाठशाला हो किनकि समाजबाट मानिसले जीवनोपयोगी ज्ञान, सीप र अनुभवहरू प्राप्त गर्दछ । मानिस मानिसबीचको सम्बन्धविना कुनै पनि मानिसले प्रगतिको पथमा लम्कन सक्दैन्, त्यसको लागि आवश्यकीय ज्ञान प्रदान गर्ने विषय सामाजिक अध्ययन हो । त्यसैले फ्रान्सिस बेकनले भनेका थिए कि अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउँछ, छलफलले उसमा तत्परता ल्याउँछ र लेखाइले ठिक जस्तो हुनुपर्छ त्यस्तै बनाउँछ ।

राष्ट्रिय एकता भनेको देशको मजबुति र समृद्धिको आधारशीला हो । जब नागरिकहरूबीच एकता हुन्छ तब मात्र राष्ट्र विकास, समृद्धि र स्थायित्वतर्फ अघि बढ्न सक्छ । आपसी द्वेष, जातीय विभेद र धार्मिक असहिष्णुताले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । जसले देशमा अशान्ति ल्याउन सक्छ । विविधताले भरिएको राष्ट्र नेपालमा १२५ भन्दा बढी जातजाति र १२३ भन्दा बढी भाषाभाषीहरू छन् । हिमाल, पहाड, तराईको आ–आफ्नो विशेषता सहितको भौगोलिक बनावट रहेको छ । त्यस्तै विभिन्न प्रादेशिक संरचना विद्यमान रहेका छन् । ती सबै संस्थाहरूको साझा संकल्प नै राष्ट्रिय एकता हो । राष्ट्रिय एकताको सिद्धान्तले भावनाको केन्द्रीकृत गरेको हुन्छ । एकआपसमा समझदारी कायम गरी एउटै उद्देश्य र भावना लिएर अगाडि बढ्ने संकल्प बोकेको हुन्छ ।

राष्ट्रिय एकता कायम राख्न हामी सबैले आ–आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ । हर क्षेत्रमा विभाजन होइन एकता र सहकार्यको भावनाका साथ सामाजिक अध्ययन शिक्षा राष्ट्रिय एकताको पैरवी गर्ने साधन हो । यसले नागरिकहरूमा देश प्रेम, निष्ठा विविधता प्रतिको सम्मान र आपसी सहयोगको भावना जागृत गराउँदछ । अधिकारको प्रत्यायोजन गर्नुका साथ नागरिकमा कर्तव्यबोध पनि गराउँछ ।

वास्तवमा राष्ट्रिय एकता कुनै नारा मात्र वास्तवमा होइन । यो त हाम्रो अस्तित्व र स्वाभिमानसँग जोडिएको विषय हो । हामीले सामाजिक अध्ययनमा सिकेका, बुझेका कुराहरू व्यवहारमा उतार्न सक्यौँ भने हाम्रो देश अझ बलियो, एकतावद्ध र समृद्ध बन्नेछ भन्न सकिन्छ ।

प्रतिक्रिया