संसदको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

काठमाडौं । संसदको अवरोधबारे छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ ।

प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै उनको राजीनामा मागसहित उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लामो समयदेखि संसद बैठक अवरोध गर्दै आइरहेको छ । सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पनि यही विषयमा अडान लिँदै आएको थियो ।

तर, पछिल्लो समय माओवादीले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहमति गरेर संसद बैठक अवरोध गर्न छाडेको छ । आजको बैठकमा यी तीन दलका शीर्ष नेताहरुबीच रास्वपा र राप्रपाको अवरोधबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया