उपमेयरले क्षेत्राधिकारको आवाज उठाउँदा मेयर महतोले उल्टै कार्यकक्षमा लगाइदिए ताला

महोत्तरी । सोमबार महोत्तरी गौशाला कि उपमेयर रेणुकुमारी महतो कार्यालयको गेटमा पुग्दा नगरप्रहरीले रोक लगाए ।
उनको गाडीलाई भित्र लैजान खोज्दा मेयर दीपेन्द्र महतोको निर्देशन भन्दै जान नै दिएनन् । प्रहरीको सहयोगमा उपमेयर प्रवेश त गरिन् तर कार्यकक्षमा ताला लगाइएको थियो ।

त्यसपछि दिनभर गौशाला नगरपालिका तनावग्रस्त वन्यो । एक पक्षले मेयर महतोले निरंकुश शैलीमा रोक लगाउनु कानुन हातमा लिएको भन्दै उपमेयरको पक्षपोषण गरिरहेका थिए भने अर्को पक्षले रोक्ने कदमलाई समर्थन गरिरहेका थिए ।

तर, स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा मेयर, उपमेयरका जिम्मेवारीहरूलाई सीमा निर्धारण गरिएको छ । राजस्व परामर्शको संयोजक रहनेदेखि अनुगमन समितिको संयोजक तथा न्यायिक समितिको संयोजक उपमेयर नै रहने व्यवस्था छ ।

जिम्मेवारीको क्षेत्राधिकारलाई नै लिएर निर्वाचित भएको सुरुदेखि नै कटुता बढ्दै गएको थियो । यसैको निरन्तरता नै आइतबारको झगडा भएको कतिपयको आँकलन छ ।

के भएको थियो ?

आइतबार ११ बजेतिर उपमेयर रेणुकुमारी महतो कार्यालय पुगेर दर्ता चलानी हेर्दा कसैको पनि विवरण राखिएको थिएन ।

सेवाग्राहीहरू बाक्लै आए तापनि दर्ता चलानी नं. राखेको नदेखिएपछि उपमेयरले थप अध्ययनका लागि दर्ता चलानी बुक नै नियन्त्रणमा लिइन् ।
उनको अनुसार व्यापक मात्रामा राजस्व छली भएको देखियो । ‘मेरो क्षेत्राधिकारभित्र रहेको क्षेत्रमा यति ठुलो बेथिति देखिएपछि मैले उक्त बुक नियन्त्रण लिन बाध्य बनेँ’, उनले भनिन् । यो विषय ढाकछोप गर्न मेयर आफैँ उत्रिए र मलाई प्रवेश गर्न रोक लगाउने दुस्साहस गरे ।’

अझ अचम्मलाग्दो विषय त कहाँनिर छ भने उपमेयरले उक्त कागजात नियन्त्रणमा लिएपछि कार्यपालिका बैठकसमेत वोलाइएको थियो ।
कार्यपालिकाको बैठकबाट नै उपमेयरलाई रोक लगाउने निर्णय भएको कतिपयले बताएका छन् । तर, नगर प्रवक्ता रामसिरिष महतोले यो विषयमा आफू अनविज्ञ भएको बताए ।

‘म स्वयं कार्यपालिकाको बैठकमा सहभागी बन्न पाइनँ’, प्रवक्ता महतोले भने । ‘मैले पनि त्यस्तै सुनेको छु यथार्थ यही हो भनेर अहिले भन्न सक्दिनँ ।’
मेयर र उपमेयरको झगडाका कारण नगरभरिका जनप्रतिनिधि दुःखित् रहेको उनको भनाइ छ । ‘उपमेयर र मेयरको विषयमा मूल्यांकन गर्दा वहाँहरू दुवै जना घटीबढी हुनुहुन्न ।’

तर उपमेयर महतोले क्षेत्राधिकार मिचेको र निर्वाध काम गर्न नदिएको बताउँदै आएकी छन् । बेथिति र प्रक्रिया विपरीत भएका कामहरूमा आवाज उठाउँदै आएकी उपमेयर पटकपटक निसानामा पर्दै आएकी स्थानीयहरूको भनाइ छ । स्थानीय युवा देवनारायण महतो स्वतन्त्र ढंगले मूल्यांकन गर्दा कतिपय विषयमा मेयरको नै बदमासी रहेको बताउँछन् ।

विकासका कामहरूमा अनुगमन गर्न नदिने, भुक्तानीको लागि स्वीकृत नगरिएका फाइलहरू जवर्जस्त अगाडि बढाउने गरेको, कर्मचारीहरूको मिलोमतोमा अनियमितता गरेको जस्ता आरोप उपमेयर महतोको छ ।

आशा, भरोसाका साथ जनताले निर्वाचित गराएको र जनतामाथि धोका हुनेगरी कुनै काम गर्न नदिन खबरदारी गर्दै आएको बताउँदै उपमेयर महतोले कतिपय विषयलाई ब्रेक लगाउन अदालतको समेत सहारा लिएको बताइन् ।

अनि दिनभर उपमेयर कार्यकक्षको ढोका कुरेर बसिन्

उपमेयरलाई कार्यकक्षमा प्रवेश गर्न ताला लगाएपछि दिनभर ढोका खोलिने आशामा बसिन् ।

यसको लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, प्रहरी प्रमुखलगायत सबैसँग सहयोग मागिन् तर प्रहरीले मुख्य गेटबाट भित्र पस्न सहजीकरण गरेता पनि ढोका खोल्न भने अस्वीकार ग¥यो ।

‘सबै कर्मचारीहरू छन्, जनप्रतिनिधि छन् । हामीले यो विषयमा हस्तक्षेप गर्न नै मिल्दैन । हामीले गर्न सक्ने सहयोग गरेका थियौँ ।’ जिल्ला प्रहरी कार्यालय प्रमुख हेरम्ब शर्माले भने । ‘जनप्रतिनिधिहरूको बीचको आन्तरिक झगडा भएको हुनाले समाधान वहाँहरूबाट नै हुनुपर्छ ।’

आर्थिक वर्षको अन्तिममा उपमेयरलाई कार्यकक्षमा आउन अवरोध गरेपछि सामाजिक संजालबाट मेयर महतोको चर्को आलोचना भएको थियो । मेयरको अलोकतान्त्रिक, अमर्यादित र गर्न नहुने काम गरेको भन्दै सामाजिक संजालबाट दबाब आएपछि मेयर महतोले सोमबार बेलुका एउटा भिडियो सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको भिडियोमा उपमेयरलाई रोक नलगाएको तर उनको गाडीलाई भने निषेध गरेको प्रष्टीकरण दिएका छन् । कार्यालयको कागजात सोही गाडीबाट चोरी भएपछि प्रवेश गर्न रोक लगाएको उनको भनाइ छ ।

प्रतिक्रिया