अमरेश सिंहले ‘नेपाल अर्को देशलाई भाडामा दिऊँ’ भनेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

काठमाडौं । सभामुख देवराज घिमिरेले स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुन्छ भनेका थिए ।

सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको मुख्य सचेतक बर्तौलाले बताए ।

सांसद सिंहले बोलिरहँदा पटक–पटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिएका थिए । सांसद सिंहको अभिव्यक्ति राष्ट्रघाती भन्दै केही बेर प्रतिनिधिसभामा हंगामा भएको थियो । उनले संसदको रोष्टमबाटै त्यस्तो अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया