इरानमा रहेका नेपालीको उद्धारमा भारतले सघाउने

काठमाडौँ । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकको उद्धारमा भारत सरकारले सघाउने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानबाट उद्धार गर्ने तेहरानस्थित भारतीय दूतावासले जनाएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत् भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई पनि निकाल्न मद्दत गर्नेछ ।’ परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै त्यसप्रति भारत सकारात्मक रहेको बताएकी छिन् ।

‘इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक छन् । यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत् भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामी उहाँहरूको सहयोगको प्रतीक्षामा छौँ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

यसअघि इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि शनिबार नै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको छ ।

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँस्थित श्रीलंकाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन भन्दै सम्पर्क व्यक्ति तथा फोन नम्बरसहितको सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपाली र इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेको बताएका छन् । १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण ५ जना नेपाली इरानी जेलमा रहेकाले उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल जारी राखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया