पुरुष यु–१६ क्रिकेट : सिंगापुरलाई ६ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको नेपालको पहिलो खेलमा ओपनर प्रसिद्ध जैसीको अर्धशतकको सहयोगमा एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्दै सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर जैशीले अविजित पारी खेले । उनले ९७ बलमा नटआउट ५५ रन बनाए ।

पहिलो विकेटका लागि ओपनर सुर्यांशु कोइराला र प्रसिद्ध जैसीले ८.१ ओभरमा ४१ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । ७ बलमा २ चौकाको सहयोगमा ९ रन बनाएका ओपनर सुर्यांशु मैदानमै ढलेपछि रिटायर्ड हर्ट भए । विकेट किपर शिवांश बजगाई ९ रन बनाउँदै आकाश तेजाको बलमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले ८८ बलमा ६३ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो । ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका रौनक श्रीवास्तव आकाश तेजाको बलमा क्याच आउट भए । जोय थापा ४ रनमा आउट हुँदा सुगम बुढाथोकी शून्य रनमै पेबेलियन फर्किए। शुभम खनाल ९ रनमा नटआउट रहे ।

सिंगापरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले एक विकेट हात पारे । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिगांपुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो ।

सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ तथा रोशन अरुन ११ रन बनाउँदै पेभेलियन फर्के । नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए । सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट आफ्नो नाममा गरे ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ । आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

नेपालले सन् २०२३ मा मेलिसियामा आयोजित प्रतियोगितामा आयोजक राष्ट्रलाई हराउँदै उपाधि जितेको थियो । उक्त संस्करणमा ७ वटा टोलीले सहभागिता जनाएका थिए । यस पटक भुटान, जापान र म्यानमार पनि थपिएका छन् ।

प्रतिक्रिया