काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले हराएको छ । दुबै इनिङमा दुबै टोलीका बलर हावी खेलमा स्कटल्यान्डले ९७ रनमा सबै विकेट गुमाएको थियो । नेपालले १ बल बाँकी रहँदा ८ विकेटको क्षतिमा ९८ रनको लक्ष्य पूरा गरेको हो ।
नेपाललाई जित दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २, करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए । ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्यान्ड ९७ रनमै समेटिएको थियो । नेपालको जितमा नायक भएका सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चे । स्कटल्यान्डमा माइकल लिज्याकले ४६ रनको योगदान गरे । स्कटल्यान्डका ३ जनाले मात्र दोहोरो अंक छुन सफल भए ।
यसको १ दिनअघि भएको खेलमा नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको नेपालले आजको जितसँगै २ अंक जोडेको छ । १–१ खेल जितेका स्कटल्यान्ड र नेदरल्यान्डले पनि समान २–२ अंक जोडेका छन् ।
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बिहीबार नेदरल्यान्डसँग खेल्ने छ ।
प्रतिक्रिया