काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय शृङ्खला क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी भएको छ । स्कटल्याण्डको टिटउट रंगशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई–दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक–एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे ।
करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् ।
खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने घोषीत भए ।
प्रतिक्रिया