काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता–२०८२’ आइतबारदेखि हुने भएको छ । काठमाडौँ महानगरपालिका–२६ ले पत्रकार सम्मेलन गरी आइतबार१ देखि ८ असारसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो’, उनले भने । वडाले खेल क्षेत्रको विकासका लागि चालु आवमा ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताए । प्रतियोगिताका संयोजक एवं वडा सदस्य प्रवेश श्रेष्ठले ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका २ विधा गरी ५ विधामा प्रतियोगिता हुने उनले बताए ।
प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ, उपविजेतालाई ७५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।
डब्लुकेएफ कराते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार र २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया