पोखरा । पोखरामा शनिबारदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सो प्रतियोगिता हुन लागेको हो ।
६ असारसम्म हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा छन् । दुवै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार २ खेल हुनेछ ।
पहिलो खेल स्याङ्जा र म्याग्दीबीच बिहान ९ बजेबाट सुरु हुनेछ । शनिबारको दोस्रो खेल तनहुँ र बागलुङबीच हुनेछ । सो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदयीमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेशमा युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको अध्यक्ष सिग्देलले बताए । क्रिकेट मैदानको व्यस्तता, यसको मर्मत सम्भार र सन २०२७ सम्म यु–१९ महिला टी–२० आई विश्वकपसम्म अघि बढाउन सबैको दायित्व रहेको उनको भनाइ छ ।
प्रतिक्रिया