एपिएफले जित्यो प्रचण्ड कपको उपाधि

काठमाडौँ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई सहजै पराजित गर्दै एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपिएफ ३–० को सोझो सेटमा विजयी भएको हो । जितसँगै एपिएफले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । पुलिसले भने ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल पुग्दासम्म अपराजित रहेको पुलिसले निर्णायक खेलमा भने लय कायम राख्न सकेन । पहिलो सेट केही प्रतिस्पर्धात्मक भएको थियो । एकसमय खेल १८–१६ को स्थितिमा थियो । सो समयमा पुलिसले ३ अंक मात्रै थपेको हो । एपिएफले भने उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा पुलिसले पुनरागमन गर्ने संकेत देखाएको थियो । निरुता ठगुन्नाको अट्याक र एपिएफको डिफेन्ससामु पुलिस दोस्रो सेटमा पनि निरीह बन्यो । सो सेट पनि एपिएफले २५–२० ले आफ्नो बनायो । योसँगै खेलमा एपिएफले २–० को अग्रता लिइसकेको थियो । त्यसपछि पुलिस फिक्का सावित भएको थियो ।
तेस्रो तथा अन्तिम सेटमा एपिएफले २५–११ ले जित हात पा¥यो । शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो ।

न्यु डायमन्डले १ लाख रुपैयाँ हात पा¥यो । फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए ।
नेपाल पुलिस क्लबकी उषा भण्डारी प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छन् । योसँगै उषाले २० हजार रुपैयाँ प्राप्त गरेकी छन् । न्यु डायमन्ड युथ स्पोट्र्स क्लबकी सुमित्रा रेग्मी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट मिडल ब्लकर घोषित भएकी छन् । सेमिफाइनलमा एपिएफ क्लबसँग ३–० ले पराजित हुँदा न्यु डायमन्डले तेस्रो स्थानका लागि खेलेको थियो । योसँगै सुमित्राले २० हजार रुपैयाँ प्राप्त गरेकी छन् । प्रतियोगिता नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा भएको हो ।

प्रतिक्रिया