बूढानीलकण्ठमा भारतीय पुरुष र नेपाली युवती एउटै कोठामा मृत भेटिए

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् ।

बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ एउटै कोठामा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अन्जनाको टाउकामा चोट रहेको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो ।

त्यसक्रममा अन्जना उक्त कोठाको सोफामाथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर फेला पारेको थियो ।

उनीहरूको शवसँगै विषादीको बट्टा भेटिएको छ । तामाङको हत्यापछि गिलले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी बोहराले बताए ।

प्रतिक्रिया