हानिकारक अभ्यास न्यूनिकरणमा कालिकोटका किशोरी

कालीकोट । कालीकोटका किशोरीहरू परम्परागत हानिकारक अभ्यास न्यूनिकरणमा लागेका छन् । समाजमा रहेका बालविवाह, छाउपडी, लैंगिक विभेदलगायत सामाजिक कुरीति र कुसंस्कारविरुद्ध सशक्त रूपमा लाग्न थालेका हुन् ।

सामाजिक रूपान्तरणमा किशोरीहरूको सक्रियताका लागि सदरमुकाम मान्ममा आयोजित दुई दिने ‘गर्ल्स आउट लाउड’ कार्यक्रममार्फत उनीहरूले आफ्ना अनुभव र आवाज सार्वजनिक रूपमा प्रस्तुत गरेका छन् ।

किशोरीलाई सशक्त बनाउने उदेश्यले शनिबार सदरमुकाम मान्ममा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा हुरेण्डेक नेपालद्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गतको ‘गर्ल्स आउट लाउड’ नामक दुई दिने कार्यक्रमको भएको थियो ।

हुरेन्डेक नेपाल कालीकोटकी अध्यक्ष गौरी कुमारी शाहीको अध्यक्षता, जिल्ला समन्वय समिति कालीकोटकी उपप्रमुख मिना रावत विकको प्रमुख आतिथ्यता र सामाजिक विकास कार्यालयका प्रमुख रछाने लुवार तथा हुरेन्डेक नेपालका जिल्ला व्यवस्थापक दिलीप कुमार शाहीको विशेष आतिथ्यतामा दुई दिने कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नहरिनाथ गाउँपालिकाबाट करिब २५ जना किशोरीहरूको सहभागिता रहेको छ । हुरेन्डेक नेपालका जिल्ला व्यवस्थापक दिलीप कुमार शाहीले कुरीति र कुसंस्कारका जरा अझै समाजमा गहिरो रुपमा रहेको बताउँदै किशोरीहरू परिवर्तनको संवाहक रहेको बताए ।

उनीहरूलाई सीप र चेतनाले सुसज्जित गरेर अघि बढाउँदा समग्र समाज परिवर्तन हुन सक्ने शाहीको भनाई छ । किशोरीहरुका समस्याका बारेमा विभिन्न ठाउँमा छलफल र आवाज उठिरहे पनि अझै त्यसले गन्तव्य नछुने अवस्थारहेको र पूर्णता दिन लागिरहेको उनले बताए ।

शाहीले किशोरीहरूलाई यौन तथा प्रजनन अधिकार, आत्मविश्वास, नेतृत्व विकास, कानुनी ज्ञान जस्ता क्षेत्रमा सक्षम बनाउँदै समाज परिवर्तनको अग्रपंक्तिमा लैजानु आवश्यक रहेको स्पष्ट पारेन् ।

मान अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालकी अध्यक्ष गौरी कुमारी शाहीले सशक्तिकरणको मूल चाबी किशोरीमै रहेको प्रष्ट पार्दै किशोरीहरू आत्मनिर्भर र सजग हुनुपर्नेमा जोड दिइन् । किशोरीहरूलाई आत्मबल, आवाज र नेतृत्वका हतियार दिइरहेको अध्यक्ष शाहीको भनाई छ ।

सामाजिक परिवर्तनमा संघ–संस्थाको योगदानको चर्चा गर्दै सामाजिक विकास कार्यालयका प्रमुख रछाने लुवारले सरकार र समाजको संयोजन गर्ने पुल नै सामाजिक संस्था भएको जिकिर गरे । जब नारी सशक्त हुन्छन् भन्नेमा समाजको हरेक पाटो बदलिन थाल्छ भन्दै समाज बदल्ने क्षमता नारिमा छ, त्यसलाई उजागर गर्न हामी सबै लाग्नुपर्नेमा लुवारले जोड दिए ।

कार्यक्रमकी प्रमुख अतिथ जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत विकले महिलाका मुद्दामा अझै आवाज उठाउन बाँकी रहेको उल्लेख गर्दै बालविवाह, छाउपडी, लैंगिक विभेद जस्ता समस्या अझै समाजमा गहिरिएर रहेको बताइन् ।

‘किशोरीहरूले अझ सशक्त रूपमा बोल्नुपर्ने समय आएको छ,’ विकले भनिन्, राज्यको हरेक निकायमा महिलाका मुद्दा अझै प्रभावकारी रूपमा उठाउनुपर्छ ।’

प्लान इन्टरनेशनल नेपालकी अभियान संयोजक लक्ष्मी चौधरीले कार्यक्रमको उदेश्यमाथि प्रष्ट पार्दै किशोर–किशोरीहरूलाई परिवर्तनको संवाहकका रूपमा लिनुपर्ने बताइन् । ‘किशोरीहरूलाई सुन्ने संस्कृति विकास गर्नुपर्छ, उनीहरूका अनुभवहरू, कथा, चेतना समाज रूपान्तरणको मेरुदण्ड बन्न सक्छ’, उनले भनिन् । त्यसैले ‘गर्ल्स आउट लाउड’ कार्यक्रमले उनीहरूको मौनतालाई आवाजमा बदल्ने काम गरिरहेको चौधरीले बताइन् ।

‘हामी डराएर बस्ने दिन सकियो, अब आवाज उठाउने, अधिकार लिने र अरूलाई पनि उठाउने समय आएको छ,’ कार्यक्रमकी एक सहभागी किशोरी निर्मला विकले भनिन् । दुई दिनको तालिममा लक्ष्मी चौधरीले कार्यक्रममा प्रशिक्षण दिएकी हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया