ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए ।
पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उनले बताए ।
वनेमका अनुसार माङमाया खोलामा रु एक लाख ५० हजार बराबरको श्रमदानमार्फत अस्थायी मोटरेवल पुल निर्माण भइरहेको छ । वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गरे ।
सवारीसाधानसहित पैदल यात्री सहज रूपमा आउजाउ गर्न मिल्ने गरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उनको भनाइ छ । काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर पालिकाले विगतदेखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया