काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले सहजै हराएको छ ।
मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हराउँदै सहज जित हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गर्दै जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई सहज जित दिलाउने क्रममा शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन बनाए । अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ रहेका प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा एक रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटिएको थियो । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन ।
जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रन बनाए । जापानका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाली बायाँ हाते स्पिनर शुभम खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा अपराजित रहेको छ । नेपालले दुई खेलबाट ४ अंक बनाएको छ । जापानको दोस्रो खेलमा यो पहिलो हार हो । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् । नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग खेल्ने छ ।
प्रतिक्रिया