काठमाडौँ । १६ वर्ष मुनिको एसिसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका शिवांश बजगाईंले सर्वाधिक ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।
जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा सुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।
यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको २ अंक छ । नेपालले आफ्नो तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालको यो दोस्रो जित हो । १ दिनअघि भएको खेलमा नेपालले सिंगापुरले ६ विकेटले हराएको थियो ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएका अन्य खेलमा सिंगापुरले इन्डोनेसियालाई ९ विकेटले हरायो । सिंगापुरले ५९ रनको लक्ष्य १ विकेटको क्षतीमा नवाँै ओभरको दोस्रो बलमा पूरा गरेको हो । मलेसियाले पनि माल्दिभ्सलाई ९ विकेटले हरायो । ३१ रनको लक्ष्य मलेसियाले २ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । जापान र सिंगापुरको २ अंक छ । भुटान र इन्डोनसियाको कुनै अंक छैन ।
समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूह ‘बी’मा थाइल्यान्ड, हङकङ र मलेसियाको २ अंक छ । मलेसियाले २ खेल खेलेको छ भने अन्य टोलीले १ खेल खेलेका छन् ।
प्रतिक्रिया