राजबंशीका दुई कृतिमाथि सुनकोसीले गर्यो परिचर्चा

काठमाडौं । साहित्यकार राधादेवी राजवंशीका दुई कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा राजवंशीको छोरीको साहास कथासङ्ग्रह तथा अनुभूतिका लहरहरु कविता सङ्ग्रहमाथि परिचर्चा सम्पन्न भएको हो ।

कथाकृतिमाथि दिपक लोहनीले परिचर्चा गर्दै २२ वटा विभिन्न शिर्षकका कथाहरु समेटिएका छोटा कथाहरु रहेको कृतिले मान्छेभित्रका मानसिकताहरु उजागर गरेको बताए । उनले कथामा शैक्षिक, सामाजिक, सांस्कृतिक विविधतालाई आधार मानेर लेखिएका विषयवस्तु भएको बताए ।

उनले भने, ‘प्रायः कथाहरु सामाजिक यथार्थवादी धार समाएर लेखिएका छन् ।’ उनले कथाकारले अझै बढी मिहेनत गर्नुपर्नेमा जोड दिए । अर्का चर्चाकार ध्रुवराज थापाले भने, ‘राजवंशीका कथाहरुले समाजका विसंगतिहरु बोध गर्ने कथाहरु रहेका छन्, भोगाइलाई कथाको रुप दिए जस्तो लाग्छ, कथाहरु पाठकका आफ्नै विषय जस्तो भान प र्छ ।’

यसैगरी प्राडा शैलेन्दु प्रकाश नेपालले राजवंशीको कविताकृतिमाथि टिप्पणी गर्दै कृतिमा तीन प्रकारका कविताहरु आफुले पाएको बताए । कविता,बालकविता र भजनहरु गरी जम्मा ५० थान कविताहरु समावेश कृतिमा प्रायः अनुभूति प्रदान कविताहरु रहेको बताए ।

सर्जक राधादेवी राजवंशीले आफ्नो लेखन गर्भको बारेमा बताउँदै चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको जानकारी दिइन् ।

कार्यक्रममा प्राडा गार्गी शर्मा, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा कोषाध्यक्ष तारा केसीको सञ्चालनमा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया