दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए ।
दुर्घटनाको खबर प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय दमारगाउँबाट प्रहरी नायब निरीक्षक पारेश्वर डाँगीको कमान्डमा तीन र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक रानाको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गरे । ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो ।
प्रतिक्रिया