धुलिखेल र बनेपासहित काभ्रेका ९ पालिका पूर्णखोप सुनिश्चितता घोषणा

काभ्रे । काभ्रे जिल्लाको १३ पालिका मध्ये ९ वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । रोशी गाउँपालिका, चौरी देउराली गाउँपालिका, खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिका बाहेक सबै गाउँपालिका तथा नगरपालिकाहरुले घोषणा गरिसकेका छन् ।

आइतबार धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्ला खोप समितिद्वारा धुलिखेल बनेपा समेत ९ पालिकाहरुलाई पूर्णखोप सुनिश्चित घोषणा गरेको छ । घोषित पालिकाका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएपछि एक कार्यक्रम गरी पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ ।

यसैबीच भोलि सोमबार खानीखोला गाउँपालिका ले घोषणा गर्ने कार्यक्रम तय भएको खोप समन्वयको अध्यक्षसमेत रहेका जिल्ला समन्व्य समितिका प्रमुख दीपक गौतमले बताए । आईतबार कार्यक्रममा धुलिखेलको १२ र बनेपाको १४ वटै वडाले समेत पूर्णखोप सुनिश्चितता गरेको हुँदा सम्पूर्ण वडालाई पूर्णखोप सुनिश्चितता घोषण प्रमाणित गरी सबै स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यसरी घोषणा गर्ने प्रक्रियामा खोप समितिको बैठक बसी स्वास्थ्यकर्मीहरुले घरधुरी सर्वेक्षण गरी अनुसुचि ५ र ६ भरेर संस्थालाई बुझाएपछि समितिले बसेर डाटा भेरिफिकेशन गरेपश्चात आफ्नो वडामा रहेका बालबालिकाहरुले पूर्णखोप पाएका छन् भने कोही छुटेका छैनन् भन्ने प्रमाणित भए पश्चात मात्र पूर्णखोप सुनिश्चितताको प्रक्रियामा अघि बढ्छ ।

यसै प्रक्रियालाई पूरा गरेपश्चात पालिकाहरुलाई जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला खोप समितिले भेरिफिकेशन गरेर मात्र पूर्ण खोप सुनिश्चितताको घोषणासहित प्रमाणपत्र वितरण गरेको हो । यी सम्पूर्ण प्रकृया तथा नगरको खोपको अवस्थका बारेमा स्वास्थ्य धुलिखेल नगरपालिकाका शाखा प्रमुख सन्दिप केसिले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले धुलिखेल नगरपालिकाले बालबालिकाहरुको समग्र विकासको लागि धेरै काम गरेको बताए । उनले धुलिखेल अन्तराष्टिय स्तरमा समेत विभिन्न सम्मान पाइरहेको उल्लेख गर्दै उनले बालबालिकामा लगानी गर्दा समृद्धि प्राप्ति हुनेमा जोड दिए ।

कार्यक्रममा उपस्थित नगरप्रमुख, अशोक व्यान्जु उपप्रमुख निराजन जंगम, जिसस प्रमुख, १२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यकर्मीले समेत पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया