कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट गम्भीर घाइते, बन्दुकधारी एक किशोर पक्राउ

बोगोटा । कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट गम्भीर घाइते भएका छन् । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि सघन उपचार कक्ष (आइसीयू) मा भइरहेको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ । अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ । मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ ।

महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब सघन उपचार कक्षमा रहेको बताए । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ । वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ ।

‘हिंसाको यो कार्य उहाँको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो’, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ । पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन् । उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

पछाडिबाट गोली प्रहार

उनको पार्टीले शनिबार एक विज्ञप्तिमा एक सशस्त्र व्यक्तिले सिनेटरलाई पछाडिबाट गोली हानेको बताएको छ । ‘उक्त आक्रमणले एक राजनीतिक नेताको जीवनलाई मात्र खतरामा पार्ने नभएर कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतालाई पनि खतरामा पार्छ’, पार्टीले भनेको छ ।

यसैबीच पार्टी नेता एवं कोलम्बियाका प्रभावशाली पूर्वराष्ट्रपति अल्भारो उराइबले गोलीकाण्डलाई देशको आशामाथिको आक्रमण भएको बताएका छन् । बोगोटाका मेयर कार्लोस गालानले एक्समा बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् ।

स्थानीय मिडियाका अनुसार १५ वर्षीय किशोरलाई पक्राउ गरिएको छ र उसैले गोली चलाएको आशंका गरिएको छ । महान्यायाधिवक्ता कामार्गोले आफूले ती रिपोर्टहरू देखेको तर जानकारी अझै प्रमाणित हुन बाँकी रहेको बताए ।

मिगुएल उराइब कोलम्बियामा लामो राजनीतिक परम्परा भएको परिवारका सदस्य हुन् । उनका एक हजुरबुबा कोलम्बियाका पूर्वराष्ट्रपति जुलियो सेजर टर्बे थिए । उनले सन् १९७८ देखि १९८२ सम्म देशको नेतृत्व गरेका थिए ।

उनकी आमा डायना टर्बे प्रसिद्ध पत्रकार थिइन् । उनलाई कुख्यात ड्रग लर्ड पाब्लो एस्कोबारको नेतृत्वमा रहेको मेडेलिन कार्टेलले अपहरण गरेको थियो । उनी सन् १९९१ मा असफल सैन्य उद्धार अभियानमा मारिएकी थिइन् । उराइब स्वयं सन् २०२२ देखि सिनेटर रहेका छन् । उनले पहिले बोगोटाको सरकारी सचिव र नगर पार्षदका रूपमा सेवा गरेका छन् ।

उनले सन् २०१९ मा सिटी मेयरका लागि पनि उम्मेदवारी दिएका थिए भने त्यो चुनावमा पराजित भएका थिए । अधिकारीहरूले शनिबारको आक्रमणका पछाडि रहेकाहरूलाई पक्राउ गर्न जानकारी दिनेलाई करिब सात लाख डलर इनाम दिने घोषणा गरेको रक्षामन्त्री पेड्रो सान्चेजले एक्समा बताएका छन् ।

प्रतिक्रिया