विपक्षी दलसँग सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मलाई स्थगित

काठमाडौं । विपक्षी दलसँग सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि बुधबारसम्मको लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।

बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

सहमतिका लागि सभामुखले सत्ता र प्रतिपक्षी संयुक्त छलफल आयोजना गरेका थिए । उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी बैठकमा सबै दल आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न नसकेको हो ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सदनमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनुपर्ने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएपछि सहमति जुट्न सकेन ।

भिजिट भिसाको नाममा करोडौँ रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

प्रतिक्रिया