काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा राखेका हुन् । ‘यो सामान्य विषय छैन । यो विषयलाई गम्भीर रूपमा उठाउँछौँ । विपक्षी दलहरूबीच छलफल चलिरहेको छ। कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाचाहिँ आउँछ’, उनले भने ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो । गृहमन्त्रीकै पार्टी कांग्रेसका कतिपय नेताले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् ।
तर सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनले राजीनामा दिनु नपर्ने जिकिर गरेको छ । गृहमन्त्री लेखक स्वयंले भने पार्टीलाई अप्ठेरो पर्ने अवस्था भए आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।
प्रतिक्रिया