म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना पूर्व मिडफिल्डर जाबी अलोन्सोलाई प्रशिक्षक नियुक्त गरेको छ । उनी ३ वर्षका लागि रियलका प्रशिक्षक बनेका हुन् । रियल म्याड्रिडका लागि खेलाडीको रूपमा २३६ खेल खेलेका अलोन्सोले यसअघि महिनाको सुरुमा सिजनको अन्त्यमा बायर लिभरकुसेन छोड्ने घोषणा गरेका थिए ।
४३ वर्षीय पूर्व स्पेनिस मिडफिल्डर जाबीले सन् २०२३–२४ मा क्लब प्रशिक्षकको रूपमा आफ्नो पहिलो पूर्ण सिजनमा लेभरकुसेनलाई बुन्डेसलिगा उपाधि जिताएका थिए । सो सिजन क्लबले कुनै खेल हारेको थिएन भने जर्मन कप पनि जितेको थियो ।
३० जुन २०२८ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका अलोन्सोले कार्लो एन्सेलोटीलाई प्रतिस्थापन गर्ने छन् । इटालियन एन्सेलोटीले शनिबार स्पेनिस क्लब रियलका लागि आफ्नो अन्तिम खेलको जिम्मेवारी लिएका थिए । अब उनी ब्राजिलको प्रशिक्षक बन्नेछन् ।
अलोन्सोलाई वायरन म्युनिख र लिभपुलले पनि क्लबमा आवद्ध गर्न चाहेका थिए । गत सिजन लिभरकुसेनको अपराजित यात्राकै कारण युरोपका ठूला तथा प्रतिष्ठित क्लबहरूले उनी प्रति चासो देखाएका हुन् ।
१४ जुनदेखि १४ जुलाईसम्म अमेरिकामा आयोजना हुने क्लब विश्वकप उनको पहिलो लक्ष्य हुने छ ।
खेलाडीको रूपमा उनले सन् २००५ मा लिभरपुललाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनले फाइनलमा गोल पनि गरेका थिए । खेलाडीको रूपमा युरोपका ३ ठुला प्रतिष्ठित क्लब लिभरपुल, रियल म्याड्रिड र वायरन म्युनिखलाई उपाधि दिलाउनु चानचुने कुरा होइन ।
यस शताब्दीका सबैभन्दा नाम चलेका प्रशिक्षकहरूबाट उनी प्रशिक्षित थिए । पेप गुआर्डीओला, कार्लोस एन्सेलोटी र होसे माउरिन्हो र राफ बेनिटेजको प्रशिक्षणमा खेलिसकेका छन् ।
उनका सहकर्मी स्टेफन गेरार्डले अलोन्सोलाई आफूले खेलेको मध्यको उतकृष्ट मिडफिल्डरको संज्ञा दिएका छन् । पछिल्लो ३ वर्षमा उनको उपलब्धि हरेर स्पेनका फरवार्ड बोर्जा इगालेसिसले जाभीलाई अहिलेसम्म आफूले देखेको मध्य सबैभन्दा उत्कृष्ट प्रशिक्षकको रूपमा ब्याख्या गरेका छन् ।
सन् २००४ मा राफ बेनिटेजले स्पेनिस ला–लिगाको उपाधि भ्यालेन्सियालाई दिलाएपछि लिभरपुल पुगेका थिए । सोही लिभरपुल पुग्ने वित्तिकै उनले पहिलो सम्झौताको रूपमा अलोन्सोलाई क्लबमा आवद्ध गरेका थिए । त्यसको ९ महिनापछि उनले च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै टोलीलाई उपाधि दिलाएर आफ्नो औचित्य पुष्टि गरेका थिए । खेलाडी रहँदा नै उनको क्लब प्रशक्षिक बेनिटेज तथा स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस अरागनोसलाई प्रशिक्षणमा समेत सहयोग गर्ने गरेका थिए । खेलाडी रूपमा सक्रिय रहँदा उनका स्थितिलाई शान्त भएर नियन्त्रणमा लिन सक्ने अनौठो खुबी थियो ।
पछिल्लो समय रियल म्याड्रिड केही स्टार खेलाडी टोलीमा रहनुका बाबजदु व्यवस्थित हुन सकेको छैन । भिन्सियर जुनियर, जुड बेलिङघम र केलिएन एम्बाप्पे बोलान डि ओर अवार्डमा मनोनयनमा परिसकेका खेलाडी रियलमा अहिले पनि छन् । ट्रेन्ठ अलेक्जेन्डर आर्नोल्डलाई सही उपयोग गर्नु रियलको अर्को चुनौती हो ।
मोड्रिचको पनि बिदाइ
स्पेनको राजधानीस्थित स्यान्टियागो बर्नाबेउ रंगशालामा शनिबार म्याड्रिड क्लबका २ महान हस्ती क्रोएसियन मिड फिल्डर लुका मोड्रिच र कार्लो अन्चेलोट्टीले आफ्नो अन्तिम घरेलु खेल खेले ।
लालिगाको ३८औँ तथा अन्तिम चरणमा रियल म्याड्रिडले रियल सोसिडाडको सामना गर्दा मैदानभित्रको प्रतिस्पर्धाभन्दा बाहिरको भावनाले प्रशंसकहरूको हृदय छोएको थियो ।
मोड्रिच सन् २०१२ मा टोटन ह्याम हट्स्परबाट रियल म्याड्रिडमा आवद्ध भएका थिए । त्यसपछि उनले क्लबका लागि १३ वर्षमा ५९० भन्दा बढी खेल खेलेर २८ उपाधि जितेका छन् । ती उपाधिहरूमा ६ युरोपियन कप, ६ क्लब विश्वकप, ५ युरोपियन सुपरकप, ४ लालिगा, २ कोपा डेलरे र ५ स्पेनिस सुपर कप छन् ।
२०१८ मा उनले बलोन डि ओर जितेर फुटबल इतिहासमा आफ्नो नाम झनै अमर बनाएका थिए । सोे खेलपछि उनले आगामी क्लब विश्वकपपछि आधिकारिक रूपमा रियल म्याड्रिडबाट बिदा लिने घोषणा गरेका छन् ।
प्रतिक्रिया