अलद नासरको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो

दुबई । क्रिस्टियानो रोनाल्डोका लागि निराशाजनक देखिएको सिजन अन्ततः अप्रत्याशित सुखद् मोडमा अन्त्य हुन सक्ने संकेत देखिएको छ । कारण उनको क्लब अल–नासरले अपिल जित्दै ३ अंक थपेको छ । योसँगै क्लबले एएफसी च्याम्पियन्स लिग (एसियाको शीर्ष क्लब प्रतियोगिता) मा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

साउदी अरब फुटबल महासंघले सोमबार बिहान यो निर्णय सार्वजनिक गरेको थियो । यो ठिक साउदी प्रो लिगको अन्तिम खेलको केही घण्टाअघि सार्वजनिक भएको हो । पहिले चौथो स्थानमा रहेको अल–नासर प्रतियोगिताबाट बाहिरिने संघारमा थियो । तर, अपिलबाट थपिएका ३ अंकले अल–नासरलाई तेस्रो स्थानमा पु¥याएको छ । अल–हिलाललाई ओभरटेक गर्दै दोस्रो स्थान हासिल गर्ने सम्भावना पनि बाँकी छ ।

सोमबार साँझ अल–नासरले अल–फातेहसँग खेल्ने छ । अल–हिलालले अल–काद्सियासँग भिड्ने छ । यदि अल–नासर तेस्रोमै समाप्त हुन्छ भने एसियाको दोस्रो तहको प्रतियोगिता एएफसी च्याम्पियन्स कप लिग २ मा जानेछन् ।

यो विवाद मार्चमा अल–ओरुबासँगको २–१ को हारपछि सुरु भएको थियो । अल–नासरले अल–ओरुबाको गोलकिपर राफि अल–रुवैली पूर्ण व्यवसायिक खेलाडी नभएको भन्दै उजुरी दर्ता गरेको थियो ।
महासंघले अल–नासरको पक्षमा निर्णय दिँदै ३ अंक दिलाएको हो । साथै, अल–ओरुबा अब रेलिगेट हुने निश्चित भएको छ ।

रोनाल्डो ५ पटकको बल्लन डि’ओर विजेता हुन् । हाल साउदी अरबमा खेल्ने सबैभन्दा ठुलो स्टार मानिन्छन् । तर, उनको अनुबन्ध ३० जुनमा सकिँदै छ । उनी अर्को सिजन अल–नासरमै रहने या नरहने विषय अझै स्पष्ट छैन । डिसेम्बर २०२२ मा ठुलो रकममा क्लबमा प्रवेश गरेका रोनाल्डोले अझसम्म ठुलो उपाधि जित्न सकेका छैनन् । यस सिजन २४ गोल गर्दै उनी लिगको शीर्ष स्कोरर बनेका छन् । फिफा क्लब विश्वकप जुन १४ देखि अमेरिका हुँदै छ । त्यहाँ सहभागी हुन उनले ऋण सम्झौतामार्फत अर्कै क्लबमा सामेल हुने सम्भावना पनि देखिएको छ ।

प्रतिक्रिया