आइओएफटिसीको १५औँ संस्करण नेपालमा हुने

काठमाडौँ । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १५औँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आइओएफटिसीले आफ्नो २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको १८ देखि २० डिसेम्बरसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४औँ संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।

निरन्तरताको हिसाबले प्रतियोगिताको १५औँ संस्करणको आयोजना सन् २०२६ मा हुनुपर्ने भए पनि आइओएफटिसी २५ वर्ष पुगेको अवसरमा १ वर्षअघि नै आयोजना गर्न लागेको आइओएफटिसीका निर्देशक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सोमबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराए ।

महर्जनले सन् २००० मा पहिलोपटक प्रतियोगिता नेपालमा भएको जानकारी गराउँदै २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यो प्रतियोगिता नेपालमै गरिन लागेको बताए । प्रतियोगितामा आयोजक नेपाललसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको र माल्दिभ्सलगायत राष्ट्रको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा ७०० भन्दा बढी खेलाडीको सहभागिता रहने आइओएफटिसी नेपालका महासचिव गिरीबहादुर सुनारले जानकारी गराए ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान ८–८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै जुनियरतर्फ महिला र पुरुष गरी १०–१० तौलसमूह र क्याडेट वर्गमा १०–१० तौलसमूहमा खेलाइने छ । यसैगरी सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी ३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

यो बाहेक बोर्ड ब्रेकिङ इभेन्टलाई पनि प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि भिडन्त हुनेछ । प्रतियोगितामा ओलम्पिक खेलकुद प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण पदक विजेता तथा विश्व ओलम्पिक तेक्वान्दो फेडेरेसनका अध्यक्ष मुन डाइ सुङ र कुकिवनका प्रशिक्षक मिन हाक सिओलेको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप प्रकाश पार्दै निर्देशक महर्जनले भने, ‘आइओएफटिसीको २५औँ वार्षिकोत्सव नेपालमा मनाउन पाउँदा निकै खुसी लागेको छ । ‘यहाँहरूको साथ र सहयोगले च्याम्पियनसिप यहाँसम्म आइपुगेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको छ ।’ महर्जनले आफूले सोचेको जसरी तेक्वान्दो खेल्न नपाए पनि अन्य खेलाडीहरूले यस्तो कुराको समाना गर्नु नपरोस् भनेर आइओएफटिसी अवधारणा अघि सारेको बताए ।

प्रतिक्रिया