काठमाडौँ । नेपाली क्रिकेट टोलीले आउँदो जुन पहिलो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा गएर स्कटल्यान्ड र नेदरल्यान्डसँग एकदिवसीय शृंखला खेल्दै छ । तयारीको क्रममा नेपाली टोलीले बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डको अवस्था उस्तै हुने तय गरेर नेपालले ती अभ्यास खेलहरूलाई महत्व दिएको हो ।
नेपाली टोलीले सबै अभ्यास खेलहरूमा जित निकाल्दै अभ्यास खेलमा सकारात्मक प्रदर्शन गरेको छ । यसकारण स्कटल्यान्डमा गएर पनि राम्रो खेल प्रदर्शन गर्ने सम्भावना देखाएको छ । यदी स्कटल्यान्डमा पनि सफल प्रदर्शन गर्न नसकेमा शीर्ष–४ मा रहने नेपालको सम्भावना कम हुने छ । नेपालले ४ वटा फरक टोलीसँग अभ्यास खेल खेलेको थियो । कार्डिफको न्यु पोर्ट टोली, एमसिसी र ग्लामोर्गानसँग एकदिवसीय अभ्यास खेलेको नेपाली टोलीले ग्लोसेस्टरशायरको टोलीसँग टी–२० अभ्यास खेल खेल्यो ।
सुरुआती अभ्यास खेलमा नेपालले कार्डिफको न्यु पोर्ट टोलीलाई ३ विकेटले हराएको थियो । दोस्रो अभ्यास खेलमा नेपालले मेरिलबोन क्रिकेट क्लब (एमसिसी)माथि १२३ रनको फराकिलो जित निकालेको थियो । ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमसँग भएका दुवै टी–२० खेलमा जित नेपाल विजयी भएको थियो ।
अन्तिमा एकदिवसीय अभ्यास खेलमा नेपालले ग्लामोर्गानको दोस्रो रोजाइको टिमलाई डर्कवर्थ लुइसको आधारमा ५० रनले हरायो । नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ यस अभ्यास खेलमा राम्रो देखिएको छ । घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरे ।
कार्डिफसँगको पहिलो अभ्यास खेलमा १८–५ को अवस्थामा पुगेर पनि खेल जितेको नेपाली टोलीले त्यसपछिका खेलमा भने ब्याटिङमा संघर्ष गर्नुपरेन । साझेदारीहरू बनाउँदै नेपाली ब्याटरहरूले राम्रो योगफल खडा गरेर खेल जितेका थिए ।
नेपालका लागि मध्यक्रममा कप्तान रोहित पौडेल, आरिफ शेख, भीम सार्की र दीपेन्द्रसिंह ऐरीले अभ्यासमा राम्रो प्रदर्शन गरेका छन् ।
जुनको पहिलो सातादेखि स्कटल्यान्डमा विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड, नेदरल्यान्ड र नेपालबीचको एकदिवसीय शृंखला हुँदै छ । यस शृंखला नेपालका लागि महत्वपूर्ण रहेको छ ।
लिग–२ को अंकतालिकामा नेपाल पुछारमा छ । त्यसै लिग–२ को शृंखलाअघि भएको यस अभ्यासले खेलाडीहरूलाई स्कटल्यान्डको कठिन पिचमा खेल्न अभ्यस्त गराएको छ । त्यसले गर्दा नेपालले लिग–२ को यस शृंखलामा केही अंक हासिल गरेर फर्कन सक्छ ।
बेलायतबाट स्कटल्यान्ड पुगिसकेको नेपालले लिग–२ अघि स्कटल्यान्डको ‘ए’ टोलीसँग थप २ अभ्यास एकदिवसीय खेल खेल्ने छ । लिग–२ शृंखलाअन्तर्गत नेपालले २ जुनमा स्कटल्यान्डसँग खेल्ने छ भने ४ जुनमा नेदरल्यान्डसँग खेल्ने छ ।
८ जुनमा स्कटल्यान्डसँग तथा १० जुनमा नेदरल्यान्डसँग खेल्ने छ । १२ खेल खेलेको नेपालको ६ अंकसहित पुछारमा छ । अमेरिका २० खेलमा २८ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्यान्डको २० खेलमा २६ अंक छ । ओमानको २० खेलमा २४ तथा स्कटल्यान्डको १६ खेलमा २० अंक छ । क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अंक छ । संयुक्त अरब इमिरेट्सको १६ खेलमा ६ तथा नेपालको १२ खेलमा ६ अंक छ ।
प्रतिक्रिया