
सुर्खेत । नेपाल क्रिकेट संघ कर्णालीले कालिकोट किक्रेट टिमलाई छनाेटमा अन्याय गरेको गुनासो आएको छ । हालै सम्पन्न यू–१६ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कालिकोट जिल्ला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो ।
सामूहिक खेल कौशल लगनशीलता र समर्पणका साथ मैदानमा उत्रिएको कालिकोट किक्रेट टोलीले आफ्नो प्रदर्शनबाट सबैको ध्यान खिच्न सफल भएको छ ।
तर, यति सशक्त प्रदर्शनका बाबजुद पनि कर्णाली प्रदेश टिममा कालिकोटबाट मात्र एक खेलाडीको छनोट हुनु खेल प्रेमीहरुका लागि निराशाजनक र भेदभावपूर्ण निर्णयका रूपमा देखा परेको सरोकारवालाको गुनासो छ ।
यस्तो छ प्रदेश टिममा जिल्लागत रूपमा खेलाडी चयन
सुर्खेत : ९ खेलाडी
रुकुम : २ खेलाडी
सल्यान : २ खेलाडी
दैलेख : २ खेलाडी
कालिकोट : १ खेलाडी
उपविजेता टिम कालिकोटको योगदान र समग्र टिमको प्रयासलाई बेवास्ता गर्नु अन्यायपूर्ण मात्र नभई युवा खेलाडीहरूको मनोवलमा प्रतिकुल असर पार्न सक्ने चिन्ता अभिभावक, प्रशिक्षक र स्थानीय खेलकर्मीहरुले व्यक्त गरेका छन् ।
छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन र सबै जिल्लाका खेलाडीहरूको प्रतिभा र मेहनतको सम्मान गरियोस् भन्ने स्थानीयहरुको माग छ । यस विषयमा पनि कालिकोट क्यानका सदस्य पवन बमले पनि खेलको छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले उपविजेता बनेको कालिकोटलाई यत्रो अन्याय गरिनु घोर आपत्ति भएको बताए । खेल प्रदर्शन गर्दा उत्कृष्ट गर्ने तर छनोट गर्दा हिजोकै कर्णालीलाई उपेक्षित गरेको जस्तो गर्ने कर्णाली क्यानले कालिकोटका खेलाडीका लागि घोर अन्याय भएको उनले बताए ।

कालिकाेट
प्रतिक्रिया