एकैदिन गणतन्त्र पक्षधर र विपक्षी सडकमा आउँदै, थपियो सुरक्षा चुनौती

काठमाडौँ । गणतन्त्रको पक्ष र विपक्षमा २ छुट्टाछुट्टै प्रदर्शन हुने भएपछि काठमाडौँको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । बिहीबार सत्तारूढ नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्ने तयारी गरेको छ भने राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ । समितिले जेठ १५ (आज) देखि राजसंस्था पुनस्र्थापना नहुञ्जेलसम्मका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलन काठमाडौँबाट प्रारम्भ हुने जनाइएको छ । दुवै पक्षले आ–आफ्नो ढंगले कार्यक्रम गर्ने र स्थान पनि जुध्ने अवस्था आएपछि काठमाडौँको सुरक्षामा चुनौती देखिएको हो ।

एमालेले भृकुटीमण्डप, सहिदगेट, प्रदर्शनी मार्ग हुँदै रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको कार्यक्रम गर्न भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति लिएको छ । जनआन्दोलन समितिले पनि रत्नपार्कमा नै कार्यक्रम गर्ने तयारी गरेको छ । तर, समितिको तर्फबाट जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरिएको छैन । आन्दोलन गर्न अनुमति लिनु पर्दैन भन्ने उनीहरूको तर्क छ । यसले मुठभेड निम्त्याउने खतरा बढाएको हो ।

सौर्य दैनिकसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले समितिलाई रत्नपार्कमा आन्दोलन गर्ने अनुमति नदिइएको बताए । आन्दोलनको विषयमा प्रशासनमा आधिकारिक जानकारी नआएको भन्दै उनले गणतन्त्र दिवसको दिन विरोधको कार्यक्रम गर्नु मनासिव नभएको उल्लेख गरे । उनले आफूहरू विरोधको कुनै कार्यक्रम नहोस् भन्ने पक्षमा रहेको बताए । ‘सकभर एकै ठाउँ कार्यक्रम गर्न नदिने हाम्रो प्रयास हुन्छ । आवश्यक सुरक्षा तयारी गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया