काठमाडौँ । भिजिट भिसा प्रकरणमा आफू र आफ्नो सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखक चर्को नैतिक दबाबमा परेका छन् । पार्टीभित्र र बाहिरबाट उनको राजीनामाको माग बढ्दै गएपछि उनी दबाबमा परेका हुन् । यो प्रकरणले बिस्तारै सडक तात्दै जान थालेपछि र सदनमा समेत प्रतिपक्षी दलहरूले राजीनामा माग गर्ने पूर्वसंकेत पाएपछि सत्तारुढ दलका नेताहरूलाई टाउको दुखाइको विषय बनेको छ ।
भिजिट भिसा प्रकरणले पुनः सत्तारुढ गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्ने भएपछि नेताहरूको दौडधुप पनि बढेको हो । गत बुधबार अख्तियारले भिजिट भिसामा सेटिङ गरी दैनिक लाखौँ रुपैयाँ असुली गरेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेपछि अध्यागमनका उनीसहित १५ जनाको सरुवा गरिएको छ भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँग प्रमुख भट्टराईको नियमित सम्पर्क हुने गरेको तथ्य फेला परेपछि सो प्रकरण गृहमन्त्रीसँग जोडिएको हो । शनिबार नै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु नैतिक हुने बताएका थिए । गृहमन्त्री लेखकले पनि राजनीतिक रूपमा नियोजित षड्यन्त्र गरिएको भन्दै आफ्नो नाम जोड्नु झुटा प्रचारबाजी भएको बताएका थिए । आफ्नो संलग्नता देखिए सार्वजनिक राजनीतिक जीवनबाटै राजीनामा दिने उनको भनाइ थियो । मन्त्रालयले समेत मन्त्रीको संलग्नता नभएको भन्दै विज्ञप्ति निकालेको थियो ।
लेखकलाई बर्खास्त गर्न लिखित रूपमै माग
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले मन्त्री लेखलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार सभापति शेरबहादुर देउवालाई पत्राचार गर्दै उनले पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्न माग गरेका हुन् । उनले गृहमन्त्री लेखकसँगै संस्कृतिमन्त्री बद्री पाण्डेलाई समेत बर्खास्त गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस् ।’ कांग्रेसकै अर्का सांसद डा. सुनिल शर्माले पनि गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक
लेखकलाई चौतर्फी राजीनामाको दबाब बढेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति देउवा निवास बूढानिलकण्ठमा आज बिहान ९ बजे बस्ने गरी बोलाइएको बैठकमा भिजिट भिसा प्रकरणमा छलफल हुने अपेक्षा गरिएको छ ।
अहिल्यै दोषी भन्नु हतारो हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यागमनको कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको संलग्नता पुष्टि नहुने बताएका छन् । आइतबार सचिवालय बैठकमा ओलीले भने, ‘छानबिनपछि मात्रै यथार्थ थाहा होला । अहिल्यै गृहमन्त्रीको संलग्नता भन्नु हतारो हुन्छ । पहिले अनुसन्धान हुन दिऔँ । अहिले यसै भन्न सकिन्नँ ।’ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि गृहमन्त्रीको बचाउ गर्दै भनेका छन्, ‘छानबिन हुन दिनुस् । एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’
‘पुष्टि भए राजनीति छाड्ने होइन, जेल जानुपर्छ’
प्रतिपक्षी दल रास्वपाले यो प्रकरणलाई आगामी मंगलबारको संसद बैठकमा सशक्त रूपमा उठाउने भएको छ । आइतबार केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘पर्सिको बैठक सामान्य हुनेछैन । प्रमाणित भयो भने गृहमन्त्रीले राजनीति छाड्ने होइन, जेल जाने हो ।’ यस्तै, गृहमन्त्री लेखकको राजीनामा माग्दै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले उनी र प्रधानमन्त्री ओलीको पुतला जलाएको छ ।
सुरु भयो सत्तारुढको छटपटी
घटनाक्रम विकास हुँदै जाँदा सत्तारुढ दलका नेताहरूको छटपटी पनि बढेको छ । प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा र कृषिमन्त्री रामनाथ अधिकारी आइतबार साँझ बालुवाटार पुगेका छन् । एमालेतर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा कर्मचारीको गलत काममा गृहमन्त्रीलाई जोड्नु नहुने निष्कर्ष निकालेको छ । कर्मचारीको बदमासीमा मन्त्रीमाथि प्रहार गरेको भन्दै राजीनामा गर्ने कुरा नहुने नेताहरूको धारणा रहेको बताइएको छ ।
प्रतिक्रिया