पाण्डेलाई स्पष्टीकरण सोधेको बदलामा वडाध्यक्षमाथि खनिए बालेन

बजेटको मुखमा महानगरमा प्रतिशोधको राजनीति

काठमाडौँ । आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र काम गर्न नदिएको भन्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले आफैँ प्रतिशोधको बाटोमा लागेका छन् । मेयर बालेनले वडा–१७ का वडाध्यक्षसमेत रहेका प्रवक्ता नवीन मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले केही दिनअघि बालेन निकट मानिएका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनले पनि वडाध्यक्ष मानन्धरलाई स्पष्टीकरण सोधेका हुन् । राजु पाण्डेको अवरोधका बीच मानन्धरकै नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गराइएको थियो । त्यसपछि बालेन रुष्ट बनेका थिए । बालेनको सचिवालयले त त्यसबेला उपमेयर सुनिता डंगोल पनि भ्रष्टाचारको दायरामा तानिन सक्ने अभिव्यक्ति दिएको थियो ।

अहिले सोही प्रकरणको प्रतिशोधका रूपमा बालेन सचिवालयबाट वडाध्यक्षमाथि स्पष्टीकरणको पत्र काटिएको हो । स्पष्टीकरणमा मेयरविरुद्ध सर्वाजनिक अभिव्यक्ति दिएको, प्रवक्ताका रूपमा महानगरको सूचना सम्प्रेषण नगरेकोलगायत विषय समेटिएको छ । सचिवालयका अनुसार अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर गएर वडाध्यक्ष मानन्धरले व्यक्तिगत चरित्र हत्या गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

प्रवक्ता मानन्धरले आफूलाई बालेनको सचिवालयले स्पष्टीकरण सोधेको, तर आफूले त्यो पत्र नबुझेको बताए । पत्र बुझ्ने र त्यसको जबाफ दिने मनस्थितिमा मानन्धर देखिँदैनन् । प्रवक्ता मानन्धर भन्छन्, ‘सोमबार (आज) अन्य जनप्रतिनिधिसँग छलफल राखेको छु । उहाँहरूको राय सल्लाहअनुसार स्पष्टीरकण पत्र बुझ्ने÷नबुझ्ने, त्यसको जबाफ दिने÷नदिने वा त्यसलाई ‘इग्नोर’ नै गर्ने भन्ने विषयमा निर्णय लिन्छु ।’

बजेट निर्माणमा जुट्नुपर्ने बेला सानातिना विषयमा मेयर रुमल्लिएको उनको आरोप छ । आफूलाई प्रवक्ताबाट हटाउन स्पष्टीकरण सोधिएको भए पनि कार्यपालिका बैठकले मात्र त्यसको निर्णय गर्ने भएकाले बरु चाँडोभन्दा चाँडो कार्यपालिका बैठक बोलाउन उनले मेयर बालेनलाई सुझाव दिएका छन् । ‘यो व्यक्तिगत विषयमा अल्झिने बेला होइन, बजेटमा काम गर्न ढिला भइसक्यो । मलाई कार्यपालिका बैठकले हटाउने हो र नयाँलाई पनि कार्यपालिका बैठकले नै ल्याउने हो,’ मान्नधरले भने, ‘अब जो आए पनि हामीबाटै आउने हो, मेयरज्यूले बाहिरबाट नयाँ मान्छे ल्याउने होइन । यो अनावश्यक विवाद किन गरिरहनुपर्यो ।’


मेयरविरुद्ध सार्वजनिक रूपमै मानन्धरले दिएको अभिव्यक्तिका कारण बालेनको सचिवालय अहिले उनीसँग रुष्ट छ । सोही कारण बालेनले केही दिनअघि तोकादेशका आधारमा मानन्धरसहित ४ जना वडाध्यक्षलाई विभागीय प्रमुखको जिम्मेवारीबाट हटाएका थिए । तर, कार्यपालिका बैठकबाट गर्नुपर्ने काम बालेनको एकल निर्णयमा भएपछि उनी स्वयं अहिले विवादमा छन् ।

प्रतिक्रिया