काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको निरीक्षण गरेका छन् । आइतबार बिहान उनले त्यहाँ पुगेर भइरहेको कामको अनुगमन गरेका हुन् ।
निरीक्षणपछि उनले यही जेठ महिनाको अन्त्यसम्ममा ओभरपासको काम पूरा गर्न निर्देशन दिएका छन् । काम पूरा भएलगत्तै ओभरपासबाट सवारीसाधन सञ्चालन हुने उनले बताए । ‘अब पनि ढिलाइ गर्ने छुट छैन। परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नुपर्छ, यो एउटा प्रतीक्षाको आयोजना पनि हो,’ उनले भने ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरिसकिएको बताए । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को ओभरपास महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागिपरेको बताए ।
कुल १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको ओभरपास ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो । तर निर्धारित समयमा पूरा नभएपछि म्याद थप भएर काम भइरहेको छ ।
प्रतिक्रिया