मुगु । जिल्लाको रारातालमा सुरु भएको पाँचाँै रारा ट्रेलरनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाया बुढाले जिते । रारातालको सौन्दर्यताको प्रचारप्रसारका लागि नेपाली सेनाले ५ वर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । रारा ट्रेल रनको पाँचौँ संस्करणमा महिलातर्फ ३८ र पुरुष १७५ जना गरेर २२३ जनाले सहभागिता जनाएका थिए ।
बुढाले १६ किलोमिटरको दुरी १ घण्टा १२ मिनेट १८ सेकेन्डमा पार गरे । जुम्लाकै सोमबहादुर रावत १ घण्टा १४ मिनेट १९ सेकेन्ड समयका साथ दोस्रो र सोही जिल्लाका चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेन्ड लगाएर तेस्रो स्थान पाए ।
सुनमायाले १६ किलोमीटर दुरी निर्धारित १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पूरा गरिन् । जुम्लाकै कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेन्ड समयकासाथ दोस्रो र जुम्लाकै राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेन्ड लगाएर तेस्रो स्थान पक्का गरे । उपाधि विजेतालाई ५०, उपविजयीलाई ३० तथा तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरियो ।
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पान्डे, नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी अनुपजंग थापा, सहायक रथी सन्जय देउजा र हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारी लगायतले सहभागी खेलाडीहरूलाई पुरुस्कार प्रदान गरे ।
प्रतिक्रिया