राष्ट्रिय टोलीमा पुरानै अनुहारलाई निरन्तरता

काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गरेका छन् । शुक्रबार उनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले बैंककमा २ खेल खेल्ने तय छ । पहिलो खेल ३० मेमा बन्द रंगशालमा हुनेछ । सो खेललाई प्रशिक्षण खेलका रूपमा लिइएको छ । दोस्रो खेल २ जुनमा हुनेछ । यो खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।

बन्द प्रशिक्षणमा रहेकी गोलकिपर रलिला जोशीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन् । यस्तै, डिफेन्डर प्रतीक्षा चौधरी र सबिना चौधरी पनि बाहिरिए । मिडफिल्डर हिमा राउत र तुलसा बोहराले राष्ट्रिय टोलीको ढोका खोल्न असफल भएका छन् । मीना देउवा, ममता पुन र पूर्णिमा राईजस्ता उदीयमान फरवार्डले पनि अनुभवी खेलाडीलाई प्रतिस्थापन गर्न सकेनन् ।

थाइल्यान्डविरुद्धको खेललाई सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप लिइएको छ । नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन् । छनोट चरण ४ मेबाट सुरु हुनेछ ।

नेपाली टोली

गोलकिपर : अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे

मिडफिल्डर : रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ

फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी

प्रतिक्रिया