काठमाडौँ । एकपछि अर्को संकटको घेरामा पर्दै आएको सत्तारुढ नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार अर्को संकटको संघारमा आइपुगेको छ । पछिल्ला राजनीतिक घटनाक्रम हेर्दा आपसी असमझदारी र अविश्वासका कारण सत्ता गठबन्धन धर्मराएको देखिन्छ ।
दुवै पार्टीका शीर्ष नेताहरूले गठबन्धनमा कुनै समस्या छैन भनेर पटक–पटक पार्टीका बैठकहरूमा र सार्वजनिक कार्यक्रमहरूमा अभिव्यक्ति दिइरहे पनि भित्री रूपमा अन्तद्र्वन्द्व चरम चुलीमा पुगिसकेको कांग्रेसका जिम्मेवार नेताहरूले बताएका छन् ।
पछिल्लो समयका राजनीतिक घटनाक्रमहरू नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण, कांग्रेसका प्रभावशाली नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यविरुद्ध बालमन्दिर जग्गा प्रकरणमा यस अघि थन्क्याएको फाईल उधिनेर मुद्दा दर्तालगायत सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण कांग्रेसका नेताहरू सरकारप्रति रुष्ट बनेका छन् ।
कांग्रेसका अन्य नेताहरू रुष्ट बने पनि सहमति बमोजिम २०८३ साउन पहिलो हप्तासम्ममा प्रधानमन्त्री नियुक्त हुने दिन कुरेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्री ओलीसँग आशावादी भएका कारण असन्तुष्टिको परिणाम देखिने गरी बाहिर आउन नसकेको हो । सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेसका एक पूर्वपदाधिकारीले कांग्रेस–एमालेबीचको असहमति र असमझदारी चरमचुलीमा पुगिसकेको भए पनि सभापति देउवाको प्रधानमन्त्री बन्ने लोभका कारण बाहिर प्रकट हुन नसकेको बताए । ‘गठबन्धनमा रहेका कांग्रेस–एमाले भावनात्मक रूपमा एकै ठाउँमा देखिन सकेनन् । सरकारमा पनि २ पार्टीबीचमा तारतम्य मिलेन,’ उनले भने, ‘सरकार र गठबन्धनप्रति अहिले धेरैभन्दा धेरै वितृष्णा बढिरहेको छ । सायद सबै नेताहरू ठुलै ‘डिजास्टर’को पर्खाइमा छन् ।’
प्रधानमन्त्रीले नै गभर्नर नियुक्ति रोकेको आशंका
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि देउवा–ओलीबीच छलफल भए पनि छलफलबमोजिम काम हुन नसकेको भन्दै कांग्रेस नेताहरू प्रधानमन्त्री ओलीप्रति सशंकित देखिएका छन् । कांग्रेस सभापति देउवाले डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न चाहेका छन् । देउवा–ओलीबीच सो कुरामा सहमति जुटेको पनि बताइएको छ । तर, कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्दा हालसम्म गभर्नर नियुक्त हुन सकेको छैन ।
तर, कांग्रेस वृत्तभित्र प्रधानमन्त्री ओली स्वयंले ढुंगानालाई नियुक्ति गर्न चाहेको भन्दै उनले कांग्रेससँग ‘डबल रोल’ खेलेको आशंका गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा भट्टको राजीनामा स्वीकृत नभएको भन्दै कांग्रेस नेताहरूले सभापति देउवालाई भेटेर ओलीसँग ‘फाइनल’ कुरा गर्न आग्रह गरेका छन् । यसरी ‘डबल रोल’ गरिरहने हो भने तुरुन्तै सरकार छाड्नुपर्ने पक्षमा कांग्रेसका बहुमत पदाधिकारी रहेको स्रोतले जानकारी दियो ।
तर, देउवाले भने गभर्नर नियुक्ति प्रधानमन्त्री ओलीका कारण ढिलाइ नभएको भन्दै राष्ट्र बैंकभित्रकै समस्यालाई कारण देखाउँदै नेताहरूलाई आश्वस्त पारिरहेका छन् । गभर्नर कांग्रेसको भागमा परिसकेको उनले बताउने गरेका छन् । ‘ओलीले गभर्नरमा लोभ गरिरहने हो भने यो सरकारको आयु लामो छैन,’ ती नेताले सौर्य दैनिकसँग भने ।
यता, सौर्य दैनिकसँग कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले भने सीधै प्रधानमन्त्रीमाथि आशंका गरिहाल्न नहुने बताए । कामु गभर्नर ढुंगानाले केवल आफ्नो बलमा मात्रै राजीनामा अस्वीकृत नगरेको उनको भनाइ छ । ‘उहाँको टेक्ने खुट्टाको बारेमा चर्चा भइरहेकै छ । आफैँले टेक्नुभएको होइन । उहाँको रिमोट अन्तै छ,’ उनले भने, ‘कांग्रेस यो सरकारलाई असफल बनाएर अस्थिरताको भुमरीमा पार्ने पक्षमा छैन । सबैले यो कुरा बुझ्नुपर्छ ।’
प्रकाशमानकी दिदीको मुद्दाले कांग्रेसभित्र रडाको
नक्सालस्थित बालमन्दिरको जग्गामा भ्रष्टाचार गरेको भन्दै बुधबार जिल्ला अदालत काठमाडौँमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यविरुद्ध मुद्दा दायर भयो । उनीसहित १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । थन्क्याएर राखिएको पुरानो अनुसन्धान प्रतिवेदनको मुद्दा एकाएक अदालतमा पुगेपछि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह ‘फायर’ छन् ।
आफ्नी दिदीसहित कांग्रेस समर्थित व्यक्तिविरुद्ध कांग्रेस नै सरकारमा हुँदा मुद्दा दायर भएको भन्दै उनले प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापति समक्ष असन्तुष्टि नै राखिसकेका छन् । पछिल्लो समय सभापति देउवाको सहयोगीका रूपमा रहेका उनी स्वयं यस प्रकरणपछि सरकारको नियतमाथि प्रश्न उठाउने ठाउँमा पुगेका हुन् । दबाबका कारण रोकिएर बसेको मुद्दा महान्यायाधिवक्ताको कार्यालयबाटै निर्णय गरेर अघि बढाइएपछि उपप्रधानमन्त्री सिंह स्वयं प्रधानमन्त्रीसँग रुष्ट भएको बुझिएको छ ।
बाक्लियो शीर्ष नेताहरूको दौडधुप
सत्ता गठबन्धन नै संकटमा पर्दै गएको आशंका र हल्लाका बीच कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटघाट पनि बाक्लिएको छ । उनीहरू तारन्तार भेट गरेर आपसी असमझदारी दूर गर्ने प्रयासमा देखिन्छन् । तर, सहमतिदेखि सहमतिसम्म हुने तर कार्यान्वयन नहुने अवस्था बन्दै गइरहेको छ । यसैबीच, बिहीबार साँझ पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलसमेत सहभागी थिए ।
बोलाइयो पदाधिकारी बैठक
यसैबीच, नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज शुक्रबार बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । ‘समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ उनले भने । पदाधिकारी बैठकमा गभर्नर नियुक्ति, रीता सिंहविरुद्धको मुद्दालगायत विषयसहित सरकारको काम, कारबाहीको सम्बन्धमा छलफल हुने एक पदाधिकारीले बताए ।
प्रतिक्रिया